२०८३ मंसिर ९ , बुधबार
दशौं राष्ट्रिय खेलकुद

दशौं राष्ट्रिय खेलकुद: मैदानमा पुलिस, आर्मी र एपीएफको वर्चस्व

मंसिर १६ को औपचारिक उद्घाटनअघि नै सुर्खेतसहित लुम्बिनीमा पाँच विधाका खेल सुरु भएका छन् । बसोबास, खानपिन, स्वास्थ्य उपचार र सुरक्षा प्रबन्धमा आयोजक तथा सुरक्षा निकायको उच्च सतर्कताका साथ व्यवस्थापन गरेका छन् ।


सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बहुप्रतिक्षित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक औपचारिक उद्घाटनको एक साताअघि नै सुरु भएको छ । यही मंसिर १६ गते भव्य समारोहका बीच प्रधानमन्त्री बालेन्द्र शाहबाट औपचारिक उद्घाटन गर्ने कार्यतालिका रहे तापनि खेल तालिकाको चाप र प्राविधिक व्यवस्थापनका कारण मंगलबारदेखि पाँच विधाका खेलहरू अनौपचारिक रूपमा प्रारम्भ भएका हुन् ।

कर्णाली प्रदेशले इतिहासमै पहिलो पटक आयोजना गरिरहेको यो बृहत् राष्ट्रिय खेलकुद महाकुम्भको पहिलो दिनको नतिजाले नेपाली खेलकुदको परम्परागत शक्ति सन्तुलनलाई पुनः एकपटक सतहमा ल्याइदिएको छ । सुर्खेतका तीनवटा खेलमैदानमा मंगलबार सम्पन्न महिला क्रिकेट, पुरुष फुटबल र महिला बास्केटबलका खेलहरूमा प्रदेश टोलीहरूलाई पछि पार्दै तीनवटै विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सानदार विजयी सुरुवात गर्दै आफ्नो एकछत्र दबदबा कायम गरेका छन् । उता, सुर्खेतबाहिर लुम्बिनी प्रदेशको नेपालगञ्जमा पौडी र बर्दियामा टेबल टेनिसका प्रतिस्पर्धाहरूसमेत मंगलबारबाटै सुरु भएका छन् ।

विभागीय टोलीको वर्चस्व र प्रदेशहरूको चुनौती

नेपाली खेलकुदमा नियमित प्रशिक्षण, आधुनिक पूर्वाधार, सन्तुलित आहार र व्यावसायिक वातावरण पाइरहेका विभागीय टोलीहरूसामु प्रदेशका टोलीहरू सधैं दबाबमा पर्ने गर्दछन् । दशौं राष्ट्रिय खेलकुदको पहिलो दिनको नतिजाले पनि यही तथ्यलाई पुष्टि गरेको छ । विशेषगरी महिला क्रिकेट र महिला बास्केटबलमा विभागीय टोलीहरूले प्रदेश टोलीमाथि एकतर्फी र फराकिलो जित निकालेका छन् ।

महिला क्रिकेटमा पुलिसको कीर्तिमानी योगफल र आर्मीको सहज जित

वीरेन्द्रनगर क्रिकेट मैदानमा मंगलबार भएको उदघाटन खेलमा महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कसिलो बलिङ गर्दै कोशी प्रदेशलाई मात्र ६५ रनमा अलआउट गर्यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३६ बलमा एक छक्का र पाँच चौकासहित सर्वाधिक ३६ रनको संघर्षपूर्ण पारी खेलिन् । तर, उनलाई अन्य ब्याटरहरूले साथ दिन सकेनन् । कोशीकी रुविना महलाले ५ र सृजनाकुमारी राजबंशीले ४ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कोशीको इनिङ ध्वस्त पार्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा दुई मेडन राखेर मात्र ६ रन खर्चिँदै सर्वाधिक चार विकेट लिइन् ।

यस्तै मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए । ६६ रनको सामान्य लक्ष्य पछ्याएको आर्मीले १३ दशमलव १ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । आर्मीका लागि ओपनर विन्दु रावलले २८ बलमा तीन चौकासहित सर्वाधिक २१ रन बनाइन् भने रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले ७ रनको योगदान दिइन् । बलिङतर्फ कोशीकी कप्तान रुविना क्षेत्रीले तीन र एलिशा खादियाले एक विकेट लिए पनि हार टार्न सकिनन् । उत्कृष्ट बलिङ गरेकी आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच बनिन् ।

महिला क्रिकेटको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले पनि आफ्नो दवदवा कायमै राख्यो । पुलिसले लुम्बिनी प्रदेशमाथि १ सय ५८ रनको विशाल अन्तरले सानदार जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ रोजेको पुलिसले निर्धारित ओभरमा मात्र एक विकेटको क्षतिमा १ सय ९७ रनको विशाल योगफल खडा गर्यो । पुलिसको यो विशाल स्कोर निर्माणमा शीर्ष क्रमका तीनै जना ब्याटरहरूले अर्धशतकीय पारी खेले । ओपनर रेवती धामी र कप्तान सिता रानामगरले सानदार सुरुवात दिलाउने क्रममा कप्तान रानामगरले सर्वाधिक ६६ रनको योगदान दिइन् । ४२ बलको सामना गरेकी उनले एक छक्का र नौ चौका प्रहार गरिन् ।

अर्की ओपनर रेवती धामीले ५३ बलमा सात चौकाको मद्दतमा अविजित ५५ रन बनाइन् । तेस्रो क्रममा ब्याटिङ गर्न आएकी इन्दू बर्माले निकै विष्फोटक ब्याटिङ गर्दै मात्र २७ बलमा १२ चौकाको मद्दतमा अविजित ५८ रनको पारी खेलिन्, जसका कारण उनी खेलको ’प्लेयर अफ द म्याच’ घोषित भइन् । पुलिसको एकमात्र विकेट लुम्बिनीकी आयुषा भुषालले लिएकी थिइन् । १ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी प्रदेश पुलिसको धारिलो बलिङसामु निरीह देखियो र १५ दशमलव ४ ओभरमा अलआउट हुँदै मात्र ३९ रनमा समेटियो । लुम्बिनीका लागि ओपनर श्रुती बुढाथोकीले सर्वाधिक १५ रन बनाइन् भने अनिता चौधरीले ८, सरस्वती पुनले ७ र कप्तान आश्मा पुनमगरले ५ रन जोडिन् । लुम्बिनीका बाँकी सात जना ब्याटरहरूले खातासमेत खोल्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न पुलिसकी करुणा भण्डारीले सर्वाधिक तीन विकेट लिइन् । यस्तै रेखा रावल, राजमती ऐरी र विनु बुढामगरले समान दुई–दुई विकेट हात पार्दा सुमन विष्टले एक विकेट लिइन् ।

फुटबलमा पुलिस र मधेशको जित

कर्णाली रंगशालामा मंगलबारबाटै सुरु भएको पुरुष फुटबल प्रतियोगितामा पनि नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा पुलिसले घरेलु दर्शकको साथ पाएको कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्यो । खेलको पहिलो हाफमै दुई गोलको अग्रता बनाएको पुलिसले दोस्रो हाफमा त्यसलाई जोगाइराख्यो । पुलिसका लागि खेलको ३६ औं मिनेटमा धिरेन्द्र शाहले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने पहिलो हाफको इन्जुरी समय (४६ औं मिनेट) मा सुजन मगरले दोस्रो गोल थपे । दोस्रो हाफमा दुवै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन् ।

प्रतिस्पर्धात्मक खेलमा पुलिसका एक र कर्णालीका दुई जना खेलाडीले पहेँलो कार्ड पाएका थिए । दोस्रो खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १–० गोलअन्तरले पराजित ग¥यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा विकाश दर्लामीले ५६ औं मिनेटमा गरेको गोल नै मधेशको जितमा निर्णायक बन्यो । खेल ढिलो सुरु भएका कारण निर्धारित समय घटाएर ३५–३५ मिनेटको खेलाइएको थियो । यसअघि मंगलबार नै भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि २–० को सहज जित निकाल्यो । प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशको सामना गर्नेछ भने दोस्रो खेल कोशी प्रदेश र बागमती प्रदेशबीच हुनेछ ।

महिला बास्केटबलमा एपीएफ र आर्मीको विजयी सुरुवात

मंगलबार नै सम्पन्न महिला बास्केटबलका चारवटा खेलमा पनि विभागीय टोलीहरू नै हाबी रहे । फुल–कोर्ट (५–५) विधाको विभागीय डर्बीमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१९ को फराकिलो अन्तरले पराजित गर्यो । यस्तै, फुल–कोर्टकै अर्को खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशमाथि ३६–३३ को रोमाञ्चक जित निकाल्यो । यसैगरी, थ्री–अन–थ्री (३ह३) विधाको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१२ को अन्तरले हरायो भने अर्को खेलमा बागमती प्रदेशले घरेलु टोली कर्णाली प्रदेशलाई ९–६ ले पराजित गरेको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्री राजेश महर्जनले जानकारी दिए ।

रंगशालाभित्रै अस्पताल र उच्च सुरक्षा सतर्कता

कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुने तय भएदेखि नै यहाँको भौतिक पूर्वाधार, खेलाडीको बसोबास, खानपिन र स्वास्थ्य सुरक्षाको विषयलाई लिएर विभिन्न कोणबाट शंका र बहस हुँदै आएको थियो । तर, खेल सुरु भएसँगै आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) र स्थानीय प्रशासनले देखाएको सक्रियताले ती शंकाहरूलाई चिर्ने प्रयास गरेको छ । खेलका क्रममा खेलाडीलाई हुन सक्ने सम्भावित चोटपटक र आकस्मिक स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्न मुख्य रंगशाला परिसरमै ८ बेडको सुविधासम्पन्न अस्थायी अस्पताल स्थापना गरिएको छ ।

जहाँ प्राथमिक उपचारदेखि माइनर ओटी (शल्यक्रिया) र फिजियोथेरापीका लागि ३ वटा छुट्टै बेडको व्यवस्था छ । १२ जना चिकित्सक, कन्सल्टेन्ट, हाडजोर्नी तथा नसारोग विशेषज्ञसहित ६ वटा एम्बुलेन्स रंगशाला वरिपरि चौबिसै घण्टा स्ट्यान्डबाई राखिएको छ भने गम्भीर प्रकृतिको चोटपटक (ट्रमा) का लागि कर्णाली प्रदेश अस्पताललाई रिफरल सेन्टरका रूपमा तयार पारिएको छ । सुरक्षा व्यवस्थातर्फ पनि चारवटै सुरक्षा निकाय—नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त कमाण्ड पोस्ट खडा गरी खेलमैदानलाई पूर्ण नियन्त्रणमा लिइएको छ ।

सोमबारदेखि नै तालिमप्राप्त कुकुर (डग स्निफिङ) र आधुनिक ड्रोन प्रविधिमार्फत खेलस्थलको निगरानी भइरहेको छ । मंसिर १६ गतेको मुख्य उद्घाटन समारोहमा करिब २ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना बनाइएको छ भने हाल दैनिक खेल सञ्चालनका लागि लुम्बिनी प्रदेशका खेलस्थलसमेत गरी ५ सय ५० को हाराहारीमा सुरक्षाकर्मी खटाइएको छ । समग्रमा, पहिलो दिनको उत्साहजनक सुरुवात र चुस्त व्यवस्थापनले दशौं राष्ट्रिय खेलकुद भव्य र व्यवस्थित रूपमा सम्पन्न हुने सकारात्मक सन्देश प्रवाह गरेको छ ।

“व्यवस्थापनमा कुनै कसर बाँकी राखेका छैनौं’’
राम चरित्र मेहता, सदस्य सचिव, राष्ट्रिय खेलकुद परिषद् (राखेप)

“हाम्रो दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतमा आज अनौपचारिक रूपमा प्रारम्भ गरेका छौं । आज सुर्खेतमा तीनवटा गेम भइरहेको छ— फुटबलतर्फ पुरुष फुटबल, महिलातर्फ बास्केटबल र क्रिकेटतर्फ महिला क्रिकेट सुरु भएको छ भने नेपालगञ्जमा स्विमिङ सुरु गरेका छौं र टेबल टेनिस बर्दियामा सुरु भएको छ । खासगरी मंसिर १६ गते औपचारिक रूपमा उद्घाटन समारोह हुने भएकाले आज सामान्य रूपमा खेल सामग्री हस्तान्तरण गरेर पाँचवटा खेल प्रारम्भ गरेका छौं, तर मुख्य उद्घाटन १६ गते नै छ ।

बसोबास, खानपिन, यातायात र शान्ति सुरक्षा जति पनि व्यवस्थापनका पक्षहरू छन्, म एकदमै नजिकबाट हेरिरहेको छु र सबै थोक मिलेको छ । हामीले हटलाइनहरू राखेका छौं, कसैलाई कुनै समस्या पर्यो भने सिधै सदस्य सचिव वा विभिन्न टोलीका नम्बरहरू सार्वजनिक गर्दैछौं । व्यवस्थापनमा हामीले कुनै कसर बाँकी राखेका छैनौं । खानपिन र बसोबासको जुन एक खालको समस्या यहाँ देखाइरहेको थियो, त्यो समस्या रहेनछ । आजसम्म पनि हामीले बुक गरेका होटलहरूको सिट र बेडहरू खाली छन् । बाहिर कर्णालीमा यस्तो छ, उस्तो छ भन्ने जुन किसिमको कुरा भएको थियो, त्यो अहिलेसम्म हामीले फेला पारेका छैनौं ।

डग स्निफिङ र ड्रोनबाट उच्च निगरानी
जयराज सापकोटा, प्रमुख, कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेत

“दशौं राष्ट्रिय खेलकुदमा हुने इभेन्ट्सहरू अन्तर्गत आज सुर्खेतका तीनवटा खेलमैदानमा चारवटा इभेन्ट्सहरू भइरहेका छन् भने लुम्बिनीको नेपालगञ्ज र बर्दियामा पनि पौडी, सुटिङ लगायतका गेमहरू भइरहेका छन् । समग्रमा खेलमैदानलाई सुरक्षित गर्ने, खेलाडीहरूको सुरक्षामा ध्यान दिने र बाह्य कुनै पनि अप्रिय घटना नहोस् भनेर चारवटै सुरक्षा निकाय मिलेर सुरक्षा योजना बनाएका छौं ।

हिजैदेखि यी खेलमैदानहरूलाई हाम्रो कन्ट्रोलमा लिइसकेका छौं । खेलमैदानको सुरक्षाका लागि हिजैबाट डग स्निफिङ गर्यौं, ड्रोनले पनि निगरानी गरिरहेका छौं । आज खेल सुरु भइसकेको छ र प्रहरी, सेना, सशस्त्र र गुप्तचर हामी संयुक्त कमाण्ड पोस्टमा रहेर खेललाई एकदम नजिकबाट हेरेका छौं । मंसिर १६ गतेको उद्घाटनमा करिब १८ सयदेखि २ हजार सुरक्षाकर्मी खटिन्छन् भने आज दैनिक खेलका लागि लुम्बिनी प्रदेशको र यहाँको गरेर ५ सयदेखि साढे ५ सयसम्म सुरक्षाकर्मी विभिन्न ठाउँमा खटिएका छन् ।

“रंगशालाभित्रै ८ बेडको अस्पताल’’
महेन्द्रकुमार थापा
सदस्य, स्वास्थ्य उपसमिति दशौं राष्ट्रिय खेलकुद)

“अहिले यहाँ रंगशालामा भएको हेल्थ उपचार केन्द्रको व्यवस्थापनमा खटिरहेका छौं । यही रंगशाला भित्र नै ८ बेडको अस्पताल सञ्चालन गरेका छौं, जहाँ प्राइमरी उपचारदेखि लिएर माइनर ओटीसम्म गर्न सक्ने खालको व्यवस्थापन गरेका छौं । यदि इन केस ठूलो इन्जुरी वा ट्रमा भयो भने प्रदेश अस्पतालसँग पनि हाम्रो कोर्डिनेसन छ र त्यहाँ पठाउने रिफरल सेन्टरको रूपमा विकास गरेका छौं ।

प्रदेश अस्पतालमा डिजास्टर अथवा भइपरी आउने समस्यालाई समाधान गर्नका लागि छुट्टै बेडको व्यवस्थापन गरिएको छ । हामीसँग १२ जना डाक्टरहरू विभिन्न विधाका खेलहरूमा स्ट्यान्डबाई हुनुहुन्छ भने कन्सल्टेन्ट, डिजास्टर फोकल पर्सन, हाडजोर्नी तथा नसारोग विशेषज्ञ पनि फिल्डमै रहनुहुन्छ । ६ वटा एम्बुलेन्स स्ट्यान्डबाई यही रंगशालाका वरिपरि राखेका छौं भने अन्य उपचार र फिजियोका लागि तीनवटा बेड सेपरेट गरेर फिजियोको पनि व्यवस्थापन भइरहेको छ ।“

प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार