२०८३ मंसिर ९ , बुधबार
सम्पादकीय

नेपाल–भारत सम्बन्ध, कार्यान्वयनको परीक्षा



प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई विकास, व्यापार, पारवहन र पूर्वाधार सहकार्यको नयाँ चरणमा लैजाने सम्भावना देखाएको छ। भ्रमणका क्रममा भारतले नेपाललाई २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहयोग घोषणा गर्नुका साथै ऊर्जा, रेल, हवाई सम्पर्क, बन्दरगाह पहुँच र सीमा पूर्वाधार विस्तारमा विभिन्न सहमति भएका छन्। यी उपलब्धिले नेपालको आर्थिक विकास र क्षेत्रीय सम्पर्क सञ्जाल विस्तारका लागि नयाँ अवसर सिर्जना गर्न सक्छन्। विशेषगरी नेपालको तेस्रो मुलुकसँगको व्यापारका लागि गुजरातस्थित दीनदयाल बन्दरगाह र भविष्यमा पारादीप बन्दरगाहसम्म पहुँच विस्तार गर्ने सहमति महत्वपूर्ण छ।

भूपरिवेष्टित मुलुक नेपालका लागि पारवहनका वैकल्पिक मार्ग विस्तार हुनु व्यापारिक लागत घटाउने र आयात–निर्यातलाई सहज बनाउने अवसर हो। त्यसैगरी काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति र रक्सौल–काठमाडौं रेलमार्गको सर्वेक्षण सम्पन्न हुनुले यातायात सम्पर्क विस्तारको सम्भावना बढाएको छ।
ऊर्जा क्षेत्रमा तल्लो अरुण आयोजनाको शिलान्यास, अरुण–३ निर्माणलाई गति दिने प्रतिबद्धता तथा पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजनामा सहकार्य गर्ने सहमतिले जलस्रोत उपयोगको सम्भावना उजागर गरेका छन्। पेट्रोलियम पाइपलाइन विस्तार, भण्डारण पूर्वाधार निर्माण र कृषि औद्योगिक पार्क स्थापनासम्बन्धी सहमतिले पनि नेपालको उत्पादन, आपूर्ति र औद्योगिक विकासमा योगदान पु¥याउन सक्छन्। तर, यस्ता घोषणा र सहमति आफैँमा विकासका उपलब्धि होइनन्। २४ हजार करोड रुपैयाँको सहयोगमध्ये ५ हजार ६ सय करोड अनुदान र १८ हजार ४ सय करोड ऋण सहायता हुने विषयले नेपालको आर्थिक दायित्व र प्रतिफलको गम्भीर मूल्याङ्कन आवश्यक बनाएको छ। ऋणमा आधारित आयोजनाले मुलुकलाई कति लाभ दिन्छन्, तिनको प्रतिफलले ऋणको भार धान्न सक्छ कि सक्दैन भन्ने विषयमा सरकारले स्पष्ट अध्ययन गर्नुपर्छ।

नेपाल–भारत सम्बन्ध भौगोलिक निकटता र ऐतिहासिक सम्बन्धमा मात्र सीमित छैन। यो नेपालको व्यापार, पारवहन, ऊर्जा र आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको छ। त्यसैले सहकार्य गर्दा नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र आर्थिक स्वार्थलाई केन्द्रमा राख्नुपर्छ। प्रधानमन्त्री शाहको भ्रमणबाट प्राप्त सहमतिलाई कार्यान्वयनमा लैजान स्पष्ट समयसीमा, पारदर्शी प्रक्रिया र प्रभावकारी अनुगमन संयन्त्र आवश्यक छ। विगतमा पनि थुप्रै आयोजना र सहमति कार्यान्वयनको अभावमा अलपत्र परेका उदाहरण छन्। त्यसैले यसपटक पनि घोषणा दोहोरिने तर परिणाम नदेखिने अवस्था आउन दिनु हुँदैन। अन्ततः भ्रमणको सफलता सहमति र घोषणाको संख्याले होइन, त्यसबाट नेपाली नागरिकले प्राप्त गर्ने वास्तविक लाभले मापन हुनेछ। अब सरकारले कूटनीतिक उपलब्धिलाई व्यवहारमा उतार्दै व्यापार, पूर्वाधार, ऊर्जा र उत्पादनका क्षेत्रमा प्रत्यक्ष परिणाम देखाउन सक्नुपर्छ।

प्रकाशित मिति : २०८३ मंसिर ९ गते बुधबार