- दशौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा सुजन बलाम्पाकी मगरको निर्णायक गोलमा गण्डकी प्रदेशलाई १–० ले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलतर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
पुलिसको जितमा सुजन बलाम्पाकी मगरले निर्णायक गोल गरे। उनले खेलको पहिलो हाफको अतिरिक्त समय (४६ औं मिनेट) मा गरेको गोल नै पुलिसलाई सेमिफाइनलमा पुर्याउन पर्याप्त बन्यो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रेफ्रीले कुल ५ वटा पहेँलो कार्ड देखाएका थिए, जसमा पुलिसका ३ र गण्डकीका २ खेलाडी परे। पुलिसका शिशिर चौधरी, संजीव लामा र अभिषेक लामा तथा गण्डकीका रन्दिप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाए।
यो हारसँगै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ भने पुलिस सेमिफाइनलमा पुगेको छ।
म्याच कमिसनर वीरेन्द्र पाण्डेका अनुसार आइतबार प्रतियोगिता अन्तर्गत दुई खेल हुनेछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भिड्नेछन् भने दोस्रो खेल बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच हुनेछ। आइतबारका दुवै खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।






