- दशौं राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च जुम्लाको चन्दननाथ मन्दिर पुर्याइएको छ। ओलम्पियन हरिबहादुर रोकाय, दीपक विष्ट र मण्डेकाजी श्रेष्ठसहितको टोली जुम्ला पुगेको हो।
जुम्ला — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च जुम्लाको प्रमुख धार्मिकस्थल चन्दननाथ मन्दिर पुर्याइएको छ। शनिबार म्याराथन धावक हरिबहादुर रोकायको नेतृत्वमा ख्यातिप्राप्त ओलम्पियनहरूले प्रतियोगिताको ट्रफी तथा ओलम्पिक टर्च जुम्ला पुर्याएका हुन्।
शुक्रबार दैलेखको पवित्र धार्मिकस्थल शिरस्थानको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुभारम्भ भएको ट्रफी टुर जुम्ला पुगेर प्रतियोगिताको मुख्य खेलस्थल सुर्खेत फर्किनेछ। जुम्ला बजार परिक्रमा पश्चात् ट्रफी र टर्चलाई चन्दननाथ मन्दिर पुर्याइएको हो।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहोल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ।
टुरमा ओलम्पियन दीपक विष्ट, साग गेम्सका डबल गोल्ड मेडलिस्ट दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाय, ओलम्पियन देबु थापा, कराते खेलाडी मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता छ।






