- कर्णालीमा जारी महिला बास्केटबलको फुल–कोर्टमा आर्मी र एपीएफ तथा ३×३ मा कर्णाली र आर्मी फाइनलमा प्रवेश गरेका छन्। चार टोली प्रतियोगिताबाट बाहिरिएका छन्।
सुर्खेत — कर्णालीमा जारी महिला बास्केटबलतर्फ ४ वटा टिम फाइनलमा प्रवेश गरेका छन्। शनिबार बिहान भएका खेलमा फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ४४–२८ अंकले पराजित गरेको छ। यस्तै फुल–कोर्टतर्फ नै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ७४–१२ अंकको फराकिलो अन्तरले हरायो। योसँगै फुल–कोर्ट महिला बास्केटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब र एपीएफ पुगेका छन्।
शनिबार भएको महिला बास्केटबलतर्फ ३×३ विधाका खेलमा कर्णाली प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। यस्तै ३×३ विधाकै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई १५–४ अंकले हराउँदै फाइनलमा स्थान सुरक्षित गर्यो। योसँगै ३×३ विधामा कर्णाली प्रदेश र त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेका छन्।
दुवै विधामा गरी कुल ४ वटा टिम फाइनलमा प्रवेश गर्दा ४ वटा टिम प्रतियोगिताबाट बाहिरिएका छन्। फुल–कोर्ट (५×५) महिला बास्केटबलतर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् भने ३×३ विधातर्फ बागमती प्रदेश र एपीएफ क्लब बाहिरिएका छन्। अब फाइनलमा पुगेका चार टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।






