२०८३ साउन २ , शनिबार

धामीझाँक्री नै भत्काउन थाले छाउगोठ



जुम्लाको गुठिचौर-४ श्रीचन्द्र पाण्डे बुडो मष्टो मुख्य देवता हुन्। पाण्डेले छाउ (महिनावारी) लाई धार्मिक आस्थासँग जोड्ने गर्थे। महिनावारी हुनु दैवी शक्तिको खेल हो, धामीझाँक्री तथा देवताका अनुयायीले छाउ हुँदा महिलालाई छुन हुँदैन भन्ने विश्वास श्रीचन्द्र सँग थियो। छाउ हुँदा महिलालाई घरमा सुताउनु धर्मविरोधी काम हो भन्ने मान्यता पाण्डेको थियो। तिनै पाण्डे अहिले छाउ गोठ भत्काउन लाग्छन् भन्ने स्थानीयले सोचेका पनि थिएनन्।

जुम्लाको गुठिचौर–४ वडाले छाउगोठ भत्काउन सक्रियता बढाएपछि उनले आफैं गोठ भत्काउन सक्रिय छन्। धामीझाँक्री परिवर्तनको बाधक हुन सक्दैनन्, तर धामीझाँक्रीको अस्तित्व पनि सबैले राखिदिनुहोला,’ उनले भने।

गुठिचौर गाउँपालिकाले छाउ गोठ नभत्काउने र कुप्रथालाई मान्यता दिने परिवारलाई सबै प्रकारका सुविधाबाट वञ्चित गर्ने निर्णयलाई उनीहरूले सहजै स्वीकारेका छन्।पाण्डेसँगै सोही वडाकी नानी पाण्डेका ससुरा पनि लाटो मष्टा मुल देवता हुन्। उनी पनि बुहारीलाई घरमै बस्न सुझाउँछन्। बुहारी नानी पाण्डेले ४ वर्षदेखि महिनावारी भएको बेला घरमै बस्ने गरेको बताउँछिन्।

छुइ हुँदा महिला गोठमा बस्नुले असुरक्षा पैदा भएको बताउँछन्। उनले भनिन्, ‘छुइ हुनु, फूल फुल्नु हो। फूल नफुल्दा फल लाग्न सक्दैन। त्यसैले छुइ हुनुलाई हाम्रो समाजले अन्यथा मान्नु हुँदैन। परम्परागत विभेदकारी प्रथा हटाउनुपर्छ।’

नानी पनि छाउ गोठ भत्काउन सक्रिय भएर लागेकी छन्। वडा भित्रका धामीझाँक्री र पुजारी सबै गोठ भत्काउन आफैं काममा खटिएका थिए। महिनावाारी भएकी महिला हिंडेको बाटो नहिंड्ने धामी नै छाउ गोठ भत्काउन सक्रिय भएपछि केही परिवर्तन हुने वडाध्यक्ष टिकादत्त न्यौपानेको भनाइ छ।

धामीझाँक्री मिलेर छाउ गोठ भत्कानु राम्रो विषय बनेको छ। उनीहरू धामीले छाउ गोठ भत्काउन साथ दिनुका साथै अबदेखि महिनावारी भएकी महिला घरमै बस्ने कुरामा विरोध नगर्ने वचन पनि दिएका छन्।

गाउँमा धार्मिक आस्थालाई गलत रूपमा परिभाषित गर्ने र पुरानो अन्धविश्वासलाई प्राथमिकतामा राख्नेहरुबाटै छाउ कुप्रथाजस्ता सामाजिक कुसंस्कारले स्थान लिएको छ। जसले छाउ प्रथा मान्ने गलत संस्कारलाई प्रश्रय दिए, तिनीहरूबाटै सकारात्मक सुरुआत भएको गाउँपालिकाकी उपप्रमुख शान्तिकुमारी मल्ल (भण्डारीले) बताइन्।

गाउँपालिकाले हप्ता दिनभित्र सबै गोठ भत्काइसक्न निर्देशन जारी गरेको छ। कार्यपालिकाबाटै लिखित निर्णय गरेर छाउ प्रथाको पक्षमा हुने जोसुकैलाई पनि कारबाही गर्ने र राज्यका सबै सुविधाबाट परिवारलाई वञ्चित गर्ने निर्णय गर्ने उपाध्यक्षको चेतावनी थियो।

यता गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले छुइ भएको समयमा महिलाले नुवाइधुवाइ गरेर सफासुग्घर रहनुपर्नेमा जोड दिइन्। ‘छुइ भएको समयमा गोठमा राख्नु हुँदैन, बरु आराम गर्न दिएर पोषिलो खानेकुरा खुवाउनुपर्छ। यो निकै संवेदनशील अवस्था भएकाले स्वास्थ्य र सुरक्षाका क्षेत्रमा सबैको ध्यान पुग्नुपर्छ,’ उनले भनिन्, ‘छुइ हुनु कुनै अभिशाप होइन। यो नियमित शारीरिक प्रक्रिया हो। यसमा आश्चर्य र अस्वाभाविक मान्नुपर्ने केही छैन।’

छाउ कुप्रथाको अन्त्यको पहलस्वरूप छाउगोठ भत्काउने र सामाजिक सचेतना दिने कार्यमा लागिपरेको झारज्वाला प्रहरी चौकीका प्रहरी हवल्दार मुक्तिराम रेग्मीले बताए।उनले भन्ने, ‘छाउपडी प्रथालाई पहिलो पटक ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ले फौजदारी अपराध भनेको छ। छाउपडी बस्न बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिवानाको व्यवस्था ऐनमा छ।’

गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी ( मल्ल) भण्डारी सहितको टोलीले गुठिचौर –४ मा छाउगोठ अनुगमन गरेको थियो। उक्त वडामा १२ गाउँबस्ती छन् भने ८ सय ४० घरधुरी छन्। ४१ छाउपडी गोठ ( छुइ कुला) भेटिएका छन्। प्यकुरेबाडामा ५ वटा, उखाडी गाउँमा १६ वटा, खल्लावाड गाउँमा ६ वटा दशौदी गाउँमा ३ वटा, विगारे गाउँमा ७ वटा र चौरविगारे गाउँमा ४ वटा छाउपडी गोठ फेला परेका छन्।

गुठिचौर गाउँपालिका वडा नम्बर–४ उखाडी गाउँकी सम्झना अधिकारीले छुई गोठ भत्काएर यो अभियानमा सक्रिय सहभागिता जनाइन्। उनी छुई गोठ भत्काउने यहाँकी पहिलो महिला समेत बनिन्।सम्झनाले छुई गोठमा बस्दा डर लाग्ने र स्वास्थ्यमा असर पर्ने भएकोले गोठ भत्काएको बताइन्।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार