सल्यान । कुनै समय सुनसान, जीर्ण र बन्द हुने अवस्थामा पुगेको सल्यानको एउटा सामुदायिक विद्यालय आज आशाको केन्द्र बनेको छ । जहाँ पहिले पाँच कक्षामा जम्मा छ जना विद्यार्थी थिए, त्यही विद्यालयमा अहिले १४० विद्यार्थी नियमित अध्ययन गरिरहेका छन् । अझ विशेष कुरा, यो विद्यालय अहिले ४७ जना आश्रयविहीन बालबालिकाको सुरक्षित घर बनेको छ । शारदा नगरपालिका–५, तल्लो मार्केस्थित जनकल्याण प्राथमिक विद्यालयको यो परिवर्तन कुनै संयोग होइन । स्थानीय सरकारको इच्छाशक्ति, शिक्षकको अथक मेहनत र समुदायको विश्वासले सम्भव भएको परिवर्तनको कथा हो ।

तीन वर्षअघि जनकल्याण प्राथमिक विद्यालयको अवस्था निकै नाजुक थियो । भवन जीर्ण थियो । कक्षाकोठा खालीजस्तै थिए । पाँच कक्षामा जम्मा छ जना विद्यार्थी थिए भने दुई जना शिक्षकले विद्यालय धानिरहेका थिए । विद्यार्थी निरन्तर घट्दै गएपछि विद्यालय बन्द हुने चर्चा चल्न थालेको थियो । त्यतिबेला अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गरिसकेका थिए । सरकारी विद्यालयप्रतिको विश्वास लगभग समाप्त भइसकेको थियो ।
एउटा सरुवाले बदलियो विद्यालयको भाग्य
२१ साउन २०८० मा शिक्षक कृष्णबहादुर वली यस विद्यालयमा सरुवा भएर आए । विद्यालयमा पहिलोपटक पुग्दा उनले देखेको दृश्य निकै निराशाजनक थियो । उनी सम्झन्छन्, विद्यालयमा विद्यार्थीभन्दा बढी चिन्ता थियो । भवन बिग्रिएको थियो । वातावरण सुनसान थियो । त्यो अवस्था देखेर विद्यालय जोगाउनु नै पहिलो लक्ष्य बनाएँ । नगर प्रमुख प्रकाश भण्डारीले पनि विद्यालयलाई पुनर्जीवित गर्ने जिम्मेवारी वलीलाई नै दिए ।
त्यसपछि विद्यालय सुधारको अभियान सुरु भयो । विद्यालयलाई आकर्षक बनाउन सबैभन्दा पहिले भौतिक पूर्वाधार सुधार गरियो । नगरपालिकाको सहयोगमा भवन मर्मत भयो, नयाँ डेस्क–बेन्च राखिए । खानेपानी र शौचालयको व्यवस्था मिलाइयो । आवश्यक शिक्षकको व्यवस्थापन पनि गरियो । तर वलीलाई थाहा थियो—भवन मात्रै राम्रो बनाएर विद्यालय भरिँदैन अभिभावकको विश्वास जित्नुपर्छ ।
उनी विद्यालयमा बसेर विद्यार्थी आउने प्रतीक्षा गरेनन् । गाउँ–गाउँ र घर–घर पुगेर अभिभावकसँग भेट्न थाले । सरकारी विद्यालय पनि गुणस्तरीय बन्न सक्छ भन्ने विश्वास दिलाए । घरदैलो अभियानले अपेक्षाभन्दा राम्रो परिणाम दियो । पहिलो वर्षमै ३६ जना नयाँ विद्यार्थी भर्ना भए । त्यसपछि विद्यालयमा विद्यार्थी थपिने क्रम रोकिएन । आज विद्यालयमा १४० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । शिक्षकको संख्या दुईबाट बढेर छ पुगेको छ । कक्षा ६ सञ्चालनको अनुमति पनि प्राप्त भइसकेको छ ।
विवादले खोसेको विश्वास
विद्यालय किन रित्तिएको थियो भन्ने खोजी गर्दा अर्को कारण पनि भेटियो । २०७५ सालतिर विकास योजनाको कार्यान्वयनलाई लिएर विद्यालय व्यवस्थापन, स्थानीय तह र अभिभावकबीच विवाद भएको रहेछ । त्यसपछि अभिभावकले आफ्ना बालबालिका अन्यत्र पढाउन थाले । परिणामस्वरूप विद्यालय लगभग सुनसान बन्न पुग्यो । आज जनकल्याण प्राथमिक विद्यालयको अर्को परिचय छ । यो ४७ जना आश्रयविहीन बालबालिकाको घर हो । यहाँ बाबुआमा गुमाएका, आर्थिक रूपमा कमजोर तथा पारिवारिक समस्याका कारण पढाइबाट वञ्चित हुन लागेका बालबालिका आवासीय रूपमा बस्छन् । उनीहरूले यहाँ शिक्षा मात्र होइन परिवारको माया पनि पाउँछन् ।
आवासीय विद्यालय र आत्मनिर्भर बन्ने अभियान
शारदा नगरपालिकाले शिक्षा नीतिअनुसार यस विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गर्ने योजना अघि सारेको थियो । २०८२ जेठ ७ गते आवासीय भवन सञ्चालनमा आएपछि अहिले ४७ जना बालबालिका त्यहीँ बसिरहेका छन् । नगर प्रमुख प्रकाश भण्डारीका अनुसार उद्देश्य एउटै हो । कुनै पनि बालबालिका अभिभावक वा गरिबीकै कारण शिक्षाबाट वञ्चित नहोस् । आवासीय विद्यालय सञ्चालनका लागि ठूलो खर्च लाग्ने भएकाले विद्यालयले आत्मनिर्भर बन्ने अभियान पनि थालेको छ । चार रोपनी जग्गामा तरकारी खेती सुरु गरिएको छ । त्यसबाट हुने आम्दानी आवास व्यवस्थापनमा खर्च गरिनेछ । साथै बचत रकमबाट माथिल्लो कक्षामा अध्ययन गर्ने आश्रित बालबालिकाको बैंक खातामा प्रत्येक वर्ष निश्चित रकम जम्मा गर्ने योजना बनाइएको छ ।








