सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । बिहीबार नेकपा (माओवादी केन्द्र) का ११ जना प्रदेशसभा सदस्य र नेपाली कांग्रेसका पाँच जना सांसदले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । नेपालको संविधानको धारा एक सय ८८ को उपधारा (४) र (५) बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरिएको हो ।
यसअघि बुधबार सरकारमा सहभागी नेपाली कांग्रेसले सरकारबाट बाहिरिने निर्णय गर्दै आफ्ना चार जना मन्त्रीको राजीनामा दिएको थियो । यद्यपि कांग्रेसले तत्काल सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन । बिहीबार भने कांग्रेसका केही प्रदेशसभा सदस्यले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सँग मिलेर मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पुष्टि गरेका छन् । अविश्वास प्रस्ताव दर्तासँगै कर्णाली प्रदेशको राजनीतिक घटनाक्रम नयाँ मोडमा पुगेको छ । अब प्रदेश सभामा प्रस्तावमाथि छलफल र संवैधानिक व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाइनेछ ।









