२०८३ असार ३२ , बिहीबार

मुगुमा खानेपानी संकट कायमै



मुगु । लामो समयदेखि पर्याप्त वर्षा नहुँदा मुगुको सोरु गाउँपालिका तिन स्थित भिई गाउँमा खानेपानीको गम्भीर संकट उत्पन्न भएको छ । अधिकांश खानेपानीका मुहान सुक्न थालेपछि करिब चार सय घरधुरीका स्थानीयवासी पिउने पानीका लागि रातिदेखि नै सार्वजनिक धारामा पालो कुर्न बाध्य भएका छन् । स्थानीयका अनुसार गाउँका आठ वटा बस्तीका लागि एउटा मात्र सार्वजनिक धारा सञ्चालनमा रहेको छ ।

खडेरीका कारण मुहानमा पानीको मात्रा घट्दै गएपछि धारामा पर्याप्त पानी आउन छाडेको हो ।  सीमित पानीका कारण दैनिक उपभोगका लागि समेत समस्या बढ्दै गएको स्थानीयवासीको भनाइ छ । स्थानीय विद्यार्थी सीता धामीले गत कात्तिकयता उल्लेख्य वर्षा नभएकाले पानीको अभाव चर्किएको बताइन् । घरमा आवश्यक मात्रामा पानी नहुँदा व्यक्तिगत सरसफाइमा समस्या भएको र विद्यालय जाने बालबालिकासमेत नियमित रूपमा सरसफाइ गर्न नसकिरहेको उनले बताइन् ।

स्थानीय कृषक जौमती नेपालीका अनुसार लामो खडेरीका कारण चरन क्षेत्रमा घाँस उम्रिन नसकेको, हिउँदे बाली सुक्न थालेको तथा पिउने पानीको अभावले चौपायासमेत प्रभावित भएका छन् । पानी नपाएर छिमेकीका चार वटा बाख्रा मरेको उनले जानकारी दिइन् । सोरु गाउँपालिका तिनका वडाध्यक्ष नवराज धामीले अधिकांश खानेपानीका मुहान सुकेपछि स्थानीयवासी गम्भीर समस्यामा परेको बताए । उनका अनुसार वडाभित्र वैकल्पिक पानीको स्रोतसमेत नहुँदा समस्या झन् जटिल बनेको छ ।

वडाध्यक्ष धामीका अनुसार गाउँपालिकाका विभिन्न बस्तीमा सुरक्षित खानेपानी पुर्‍याउने उद्देश्यले संघीय सरकार अन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, सुर्खेतको समन्वयमा बृहत् खानेपानी आयोजना सञ्चालनमा छ । तर निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजना सम्पन्न हुन नसक्दा स्थानीयले नियमित खानेपानी सेवा पाउन सकेका छैनन् । स्थानीयवासीले आयोजना शीघ्र सम्पन्न गरी गाउँमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले समयमै समाधान नभए खानेपानी संकट अझ गम्भीर बन्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८३ असार ३२ गते बिहीबार