कालीकोट । लगातारको वर्षा र त्यसपछि खसेका पहिरोका कारण कालीकोटका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । ठाउँ–ठाउँमा सडक भत्किँदा गाउँपालिका तथा नगरपालिकालाई सदरमुकाम र कर्णाली राजमार्गसँग जोड्ने सडक सञ्जाल प्रभावित भएको छ । ठूला ढुंगासहितको लेदो पहिरोले सडक अवरुद्ध भएपछि जिल्लाका विभिन्न क्षेत्रमा यातायात सेवा ठप्प बनेको छ ।
सडक बन्द हुँदा दुर्गम बस्तीमा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समेत समस्या देखिन थालेको छ । स्थानीय व्यवसायीका अनुसार सडक लामो समय सञ्चालन हुन नसके बजारमा उपभोग्य वस्तुको अभाव र मूल्यवृद्धिको जोखिम बढ्नेछ । रास्कोटका व्यापारी तुलराजनाथ योगीले कालोपत्रे भइरहेको सडकमा समेत चिरा परेकाले सवारी सञ्चालन गर्न कठिन भएको बताए । उनले आवश्यक उपभोग्य सामग्री ढुवानीमा समस्या हुन थालेको जानकारी दिए ।
कर्णाली राजमार्गअन्तर्गत गगनेखोलामा पहिरो पन्छाएर सडक सञ्चालन गर्ने प्रयास जारी रहे पनि निरन्तर वर्षा र पटक–पटक पहिरो खसिरहेकाले सडक खुलाउन चुनौती भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीका अनुसार वर्षायामभर सडक अवरुद्ध हुने र पुनः सञ्चालन गर्ने काम सँगसँगै चलिरहेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहले जेसीबीलगायत हेभी उपकरण प्रयोग गरेर दैनिक रूपमा पहिरो हटाउने काम गरिरहेका छन् ।
सडक अवरुद्ध हुँदा आकस्मिक स्वास्थ्य सेवामा समेत असर परेको छ । जिल्ला अस्पताल कालीकोटका प्रमुख डा. रत्नवीर सुनारले एम्बुलेन्स पुग्न नसक्दा बिरामीलाई समयमै अस्पताल पुर्याउन कठिन भएको बताए । उनका अनुसार जटिल बिरामीलाई रेफर गर्न ढिलाइ हुँदा स्वास्थ्य जोखिम बढेको छ । जलवायु तथा वातावरणका प्राविधिक लीलाराज न्यौपानेले सडक निर्माणका क्रममा जथाभावी डोजर तथा स्काभेटर प्रयोग गरिएकाले भू–बनोट कमजोर भई पहिरोको जोखिम बढेको बताए । प्रशासनले अत्यावश्यक कामबाहेक जोखिमपूर्ण सडक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।









