२०८३ साउन १ , शुक्रबार

तातोपानीको बजेट खर्च ७१.६९ प्रतिशत



जुम्ला । तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न क्षेत्रका १२१ वटा विकास योजना सम्पन्न गरेको जनाएको छ । गाउँपालिकाले आठवटै वडामा पूर्वाधार, सामाजिक विकास तथा अन्य विषयगत क्षेत्रअन्तर्गत योजना कार्यान्वयन गरेको हो । बिहीबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार वित्तीय समानीकरण, संघीय तथा प्रदेश सशर्त अनुदान, विशेष अनुदान, समपूरक अनुदान, प्रधानमन्त्री रोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ती योजनाहरू सम्पन्न भएका हुन् ।

योजना शाखा प्रमुख ओमबहादुर चन्दका अनुसार चालु आर्थिक वर्षमा गाउँपालिकाको समग्र बजेट खर्च ७१.६९ प्रतिशत रहेको छ । कुल ५५ करोड २४ लाख ७२ हजार छ सय २४ रुपैयाँ बजेटमध्ये पुँजीगततर्फ विनियोजित २० करोड ४१ लाख २ हजार रुपैयाँमध्ये १० करोड ४४ लाख ३२ हजार नाै सय आठ रुपैयाँ अर्थात् ५२.१० प्रतिशत खर्च भएको छ । यस्तै चालुतर्फ विनियोजित ३५ करोड २० लाख ६० हजार छ सय ६४ रुपैयाँमध्ये २९ करोड १६ लाख ५९ हजार पाँच सय ६८ रुपैयाँ अर्थात् ८२.८४ प्रतिशत खर्च भएको उनले जानकारी दिए ।

सम्पन्न भएका एक सय २१ योजनामध्ये २५ वटा योजनाको भुक्तानी भने अझै हुन सकेको छैन । योजना शाखा प्रमुख चन्दका अनुसार समयमै बिल पेश नहुनु, उपभोक्ता सम्पर्कमा नआउनु तथा आर्थिक वर्षको अन्तिम समयमा प्रणाली (सिस्टम) ले काम नगर्नुका कारण करिब एक करोड ५१ लाख ५४ हजार रुपैयाँ बराबरका योजनाको भुक्तानी रोकिएको हो । गाउँपालिकाले चालु आर्थिक वर्षमा ४४ करोड ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ, जुन अन्य स्थानीय तहको तुलनामा उल्लेखनीय रहेको दाबी गरिएको छ ।

गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले ‘समृद्ध तातोपानी’ अभियानअन्तर्गत आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार निर्माण, सुशासन तथा प्रशासनिक सुधारका क्षेत्रमा प्राथमिकताका साथ बजेट परिचालन गरिएको बताए । सीमित स्रोत–साधनका बाबजुद चार वर्षको कार्यकाल उपलब्धिमूलक रहेको उल्लेख गर्दै उनले आगामी वर्ष अझ प्रभावकारी रूपमा काम गर्न सबैको रचनात्मक सहयोग र सुझाव आवश्यक रहेको बताए । उपाध्यक्ष रेवती रावलले सामाजिक विकासलाई प्राथमिकतामा राखेर काम गरिएको बताइन् ।

उनका अनुसार सामाजिक विकास शीर्षकमा विनियोजित २२ करोड ७२ लाख ५९ हजार रुपैयाँमध्ये १८ करोड ७७ लाख रुपैयाँभन्दा बढी खर्च गरिएको छ । आगामी वर्ष भौतिक विकाससँगै सामाजिक रूपान्तरणलाई थप प्रभावकारी बनाउँदै समृद्ध र नमुना तातोपानी निर्माणमा केन्द्रित हुने उनले बताइन् । प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले सुशासन, पारदर्शिता र नागरिक गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन समीक्षा कार्यक्रम आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा प्राप्त सुझावलाई आगामी नीति तथा कार्यक्रममा समेटिने उनले बताए ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार