२०८३ कात्तिक २१ , शनिबार

गण्डकीमा मनसुन कहरः चारदिनमा ११ जनाले ज्यान गुमाए



अविरल वर्षापछिको शुक्रबार राती आएको पहिरोले घर पुरिँदा पुरिएर स्याङजा र बागलुङमा गरि चारजनाको ज्यान गएको छ। मृतक मध्ये एकजना बालिका, दुइजना महिला र एकजना पुरुष रहेको प्रहरीले बताएको छ। गण्डकी प्रदेश प्रहरीका कार्यालयका अनुसार बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा चारदिन अवधिमा ११ जनाको ज्यान गएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार स्याङ्जाको फेदीखोला गाऊँपालिका– ५ बाँगे स्थित दुर्गा जिटीको घर शुक्रबार रातीको पहिरोले पुरिएको थियो। घरबाट करिब २५ मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा ३१ वर्षिया दुर्गा जिटी र उनकी छोरी वर्ष ३ की निसिका जिटीको ज्यान गएको प्रहरीको भनाई छ।

पहिरोले पुरिएका उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। घरमा छोराछोरीसँगै बस्दै आएको भएपनि ८ वर्षिय छोरा निर्देश जिटी आफन्तको घरमा सुत्न गएकोले जोगिएको प्रहरीले बताएको छ । दुर्गाका पति बैदेशिक रोजगारका लागि विदेशमा छन।

त्यस्तै बागलुङमा पनि पहिरोले पुरिँदा दम्पतिको ज्यान गएको छ। बागलुङको गल्कोट नगरपालिका– ८ बिसौनाका ५५ वर्षिय प्रेम बिकको कच्ची घर पहिरोले पुरिएको थियो। पहिरोले घर पुरिँदा प्रेम र उनकी ५० वर्षिया श्रीमति बसन्ती बिकको ज्यान गएको प्रहरीको भनाई छ। घरमा चारजना बस्दै आएपनि प्रेमकी बुहारी र नातिको भनो सकुशल उद्धार गरिएको प्रहरीको भनाई छ। घर भन्दा करिब ३ सय मिटर माथिबाट झरेको पहिरोले गोठ समेत पुरिएकोमा भैसी र बाख्रा पनि मरेका छन।

त्यस्तै पहिरोले घर सहित पसलमा क्षति गरेको छ। बागलुङ जैमिनी नगरपालिका– ५ स्थित ठेउले खोलामा पानीको वहाव बढ्न जाँदा खोलाछेउमा रहेको ४२ बर्षिय मञ्जु श्रेष्ठको किराना पसल बगाएको पनि प्रहरीको भनाई छ। किराना पसलका सामान र सुनका गरगहना बगाउँदा २ लाख ३० हजार रुपैयाँ नोक्सान भएको प्रहरीको भनाई छ।

मनसुुन सुरु भएपछिको बाढीपहिरोमा परेर गण्डकी प्रदेशमा पछिल्लो एकसाता अवधिमा ११ जनाको ज्यान गएको छ। गत मंगलबारको बाढी पहिरोले घर पुरिँदा लम्जुङ र कास्कीमा गरि सातजनाको ज्यान गएको थियो। पहिरोमा परेर लम्जुङमा दुईजना बालिका सहित पाँचजनाको ज्यान गएको थियो भने कास्कीमा दुईजना बालबालिकाको ज्यान गएको थियो।

प्रकाशित मिति : २०८१ असार १६ गते शनिबार