२०८३ कात्तिक २१ , शनिबार

रोपाइँमा रमाउँदै बालबालिका



सधैं कक्षाकोठामा देखिने विद्यार्थी आइतबार फरक भूमिकामा देखिए। भक्तपुर नगरपालिका वडा नं-२ मिवाछें व्यासीस्थित एभरेस्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर रोपाइँमा व्यस्त भएका थिए।

स्कुलको कक्षा ४ का एक सय ९ जना छात्रछात्रा धान रोपाइँमा सहभागी भएका थिए। उनीहरूले स्कुल नजिकैको स्कुलकै ४ आनाको क्षेत्रफलमा फैलिएको खेतमा रोपाइँ गरेका थिए।

ट्यांकरबाट ल्याइएको पानीबाट उनीहरूले शिक्षक शिक्षिका तथा अन्य कामदारहरूको सहयोगमा धान रोपेका थिए।

रोपाइँमा सहभागी विद्यार्थीहरूले सधैं कक्षाकोठामा मात्रै बसेर पढ्दै आएकोमा आइतबार अलि फरक रूपमा धान रोप्न पाएकोमा खुसी साटे। “कक्षाकोठामा मात्रै बसेर होइन कि फिल्डमा पनि पुगेर सिक्ने मौका पाएकोमा असाध्यै खुसी लागेको छ,” उनीहरूले भने।

प्रयोगात्मक अभ्यासले खेती गर्ने किसानको दुःख बुझ्ने मौका मिलेको उनीहरूको भनाइ थियो। “यसबाट धेरै कुरा सिकियो,” उनीहरूले भने, “हामीले खाने चामलको भातका लागि किसानले कति मिहिनेत गर्दा रहेछन् अनुभव गर्न पाइयो।”

यसअघि ती विद्यार्थीले नै रोपाइँका लागि आवश्यक धानको बीउ राखेका थिए। उनीहरूले धानको बीउ राख्नेदेखि धान भित्र्याउनेसम्मको सम्पूर्ण काम गर्ने जानकारी स्कुलले दिएको छ। बीउ छर्ने, धान गोड्ने, काट्ने, झार्नेदेखि भित्र्याउने सबै उनीहरूले नै गर्ने स्कुलले जनाएको छ।

स्कुलकी शिक्षिका एवं धान रोपाई कार्यक्रमकी संयोजक सुनिता सुवेदीले धान रोप्ने कार्यक्रमको दिन अघि नै उनीहरूलाई पहिला नै कक्षाकोठामा जानकारी गराइएको बताइन्।

धान रोप्ने प्रक्रिया, तरिका, त्यसमा प्रयोग हुने सामानलगायतका विषयमा कक्षामा यसअघिका दिनहरूमा नै जानकारी गराइएको उनले सुनाइन्। धान रोप्न विद्यार्थी कोदालो, डाँटेलगायतका सामग्री लिएर खेतमा गएका थिए।

स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुले जीवनमै जीवनका विविध पक्षका बारेमा व्यवहारिक ज्ञान दिन प्रत्येक वर्ष असारमा रोपाई कार्यक्रम गर्दै आएको जानकारी गराए।

खेती किसानबारे बुझ्ने उमेर सुरु हुने भएकाले प्रत्येक वर्ष कक्षा चारका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराउँदै आएको उनले जनाए।

स्कुलले प्रत्येक वर्ष धान दिवस अर्थात् असार १५ का दिन विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराउने गर्दै आएको जनाइयो। तर यो वर्ष असार १५ शनिबार परेकोले आइतबार धान रोपाई कार्यक्रम गरेको स्कुलले जनायो।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतबार