स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नीति अनुसन्धान र जग्गा खरिद तथा भवन निर्माण कोष स्थापना गरेको छ। खोज र अनुसन्धानमूलक कार्यद्वारा इप्पानलाई ‘थिंक ट्यांक’को रूपमा विकास गर्न तथा आफ्नै भवनबाट इप्पानका गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित कोष स्थापना गरिएको हो।
शुक्रबार काठमाडौंमा भएको इप्पानको २२ औं साधारणसभाबाट दुवै कोष स्थापनाको निर्णय पारित भएसँगै औपचारिक रूपमा दुवै कोष स्थापना भएको इप्पानका कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिए।
‘दूरगामी रूपमा प्रभाव पार्ने खालका दुई वटा कोषहरूको दूरदृष्टि, उद्देश्य र प्रस्तावित कार्ययोजनासहित कोष स्थापना गरिएको छ, यसले सदस्यहरूलाई संगठित गर्ने, नीतिगत र कार्यक्रमगत लविङ गर्ने तथा विभिन्न खोज अनुसन्धान गर्ने कामहरू अघि बढाउनेछ।
सम्बन्धित क्षेत्रमा अध्ययन गरी आवश्यक तथ्यांक, जानकारी, राष्ट्रिय/अन्तर्राष्ट्रिय मानक र विश्लेषणहरू संस्थागत रूपमा संकलन गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको हो। तीन करोड रूपैयाँ संकलन गर्ने लक्ष्यसहित स्थापना गरिएको कोषको छुट्टै कार्यविधि बनाइ अघि बढ्ने लक्ष्य इप्पानको छ।
ऊर्जा प्रवद्र्धक कम्पनी, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था र निकायहरूबाट रकम संकलन गर्ने लक्ष्य राखिएको कोषको रकमबाट ऊर्जासँग सम्बन्धित विभिन्न अध्ययन, अनुसन्धान र प्राज्ञिक कार्य गर्ने लक्ष्य लिइएको छ।
इप्पानले ऊर्जा क्षेत्रले, सामाजिक, कुल गार्हस्थ्य उत्पादन (जिडिपी), बैंक तथा वित्तीय संस्थाले ऊर्जामा गरेको लगानीको अवस्था, ऊर्जाले रोजगारी सिर्जनामा पुर्याएको योगदान, ऊर्जा आयोजनामा सर्वसाधारणको सेयर लगानीको अवस्था, निर्माण सम्पन्न र निर्माणाधीन आयोजनाहरूमा देखिएका समस्याहरूको पहिचानसहित ऊर्जासँग सम्बन्धित तथ्य, तथ्यांक र सामाग्रीहरू प्रकाशन लगायतका कार्य गर्ने लक्ष्य राखेको छ।
साधारणसभामा पूर्व ऊर्जा सचिव सुमन शर्माले आफूले ऊर्जा ज्योति सम्मान बापत पाएको एक लाख रूपैयाँमा थप एक लाखसहित दुई लाख रूपैयाँ दिने घोषणा गरेका छन्।
यसैगरी यस कोषमा इप्पान सदस्य टी एन आचार्यले भिजन इनर्जीको तर्फबाट एक लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्। उनले भवन निर्माण कोषमा पनि एक लाख रूपैयाँ दिने घोषणा गरेका छन्।
यसैगरी पाँच वर्षभित्र आफ्नै जग्गा खरिद गरेर भवन निर्माण गर्ने लक्ष्यसहित स्थापना गरिएको जग्गा तथा भवन निर्माण कोषका लागि छुट्टै कार्यविधि र भवन निर्माण समिति गठन गरिने जानकारी कोषाध्यक्ष पन्तले दिए।
‘संस्थाको सदस्य संख्या ऊर्जा क्षेत्रमा भएको महत्त्वपूर्ण लगानी, सरकारले यसलाई दिएको प्राथमिकता र दीर्घकालीन रणनीतिक वस्तु भएको सन्दर्भमा यसको नेतृत्वदायी संस्था इप्पानको आफ्नै भवन बनाउनु आवश्यक रहेकाले कोष स्थापना गरेका हौं’, उनले भने।

Leave a Reply