हालै प्रकाशित एसइईमा ५२.१३ प्रतिशत परीक्षार्थी असफल भए । यो असफलता अनुत्तीर्ण हुनेको मात्र चिन्तामा सीमित रहेन। शिक्षा ज्ञानको स्रोत हो, साथै भविष्यको मार्ग पनि हो। त्यसैले शैक्षिक मामलामा अड्किनु भनेको प्रगति रोकिनु हो । यही कारण भविष्यका कर्णधार भनिने लाखौँ युवाको प्रगतिमा लागेको ‘ब्रेक’ले सबैको ध्यानाकर्षण हुनु स्वाभाविक हो। अझ शिक्षाकै खानी त्रिभुवन विश्वविद्यालय त झन् यो घटनामा कसरी चुप रहन सक्थ्यो र?
त्यसैले अनुत्तीर्ण विद्यार्थीलाई उम्काउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयले ‘साथी सिकाइ’ को अवधारणा अघि सारेको छ। जसअनुसार यो विश्वविद्यालयअन्तर्गत स्नातक र स्नातकोत्तर अन्तिम वर्षमा पढ्दै गरेका विद्यार्थीले अनुत्तीर्ण विद्यार्थीलाई पढाउने छन्। यस्तो अवधारणालाई अभ्यासमा उतार्दा खस्किएको विद्यालय शिक्षाको अवस्था उकासिन मद्दत पुग्ने त्रिविको अनुमान छ। अर्कोतर्फ आफूसँग भएको जनशक्तिको अधिकतम उपयोग हुने त छँदैछ।
एसइईमा गणित, विज्ञान, अंग्रेजी, सामाजिक र नेपालीमा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन् । यसरी अनुत्तीर्ण हुनेमा गणित, विज्ञान र अंग्रेजीका सामुदायिक (सरकारी) विद्यालयमा पढ्ने बढी छन् भने नेपाली र सामाजिक विषयमा बढी फेल हुनेचाहिँ संस्थागत (निजी) विद्यालयमा अध्ययनरत बढी छन्। त्यसैले त्रिविका विद्यार्थीले सामुदायिक र निजी दुवै विद्यालयका विद्यार्थीलाई पढाउने छन्। स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँमा गएर पढाउन सक्ने व्यवस्थाले यो अभ्यास प्रभावकारी हुने देखिन्छ।
मुलुकको शैक्षिक अवस्था खस्कनुमा धेरै कारण जिम्मेवार छन्। विद्यार्थी, शिक्षक र अभिभावक यसका प्रत्यक्ष देखिने कारक हुन् भने शिक्षा नीति तथा शैक्षिक प्रशासकहरू अप्रत्यक्षरूपमा सामेल भए पनि झनै जिम्मेवार कारक हुन्। शिक्षकहरू राजनीतिप्रति बढी झुकाव राख्नु, प्रशासकहरू शैक्षिक सुधारभन्दा जागिरे मनोवृत्तिमा रमाउनु तथा नेताहरू स्वार्थप्रेरित र व्यावसायिकतामा बढी झुकाव राख्ने जस्ता कारण हाम्रो शैक्षिक अवस्था रसातलतर्फ उन्मुख छ। यस्तो अवस्थामा यसको मुख्य दोषी कसैलाई करार गर्नुभन्दा सबैजना मिलेर उकास्नतर्फ लाग्नुपर्छ। जसको पहलकदमी लिएर त्रिविले निकै सह्रानीय काम गरेको छ।
नेपालको शिक्षा उसै पनि व्यावहारिक छैन। घोकन्ते र रटन्ते शिक्षाकै कारण यो सिर्जनात्मक पनि छैन। अर्कोतर्फ सैद्धान्तिक लेपन बढी भएकाले यो गरिखाने खालको पनि छैन। त्यसैले विद्यालय/कलेजको पढाइ/पाठ्यपुस्तक भन्नासाथ नाक खुम्च्याउने परिपाटी जाग्दो छ। यसको मुख्य कारण यो रसिलो नहुनु पनि हो। यस्तो अवस्थामा आफूले सिकेको सैद्धान्तिक ज्ञानलाई अभ्यासमा उतार्ने वातावरणसमेत अभाव रहँदै आएको छ। अहिले त्रिविले अपनाउन लागेको जुन साथी सिकाइको अवधारणा छ, त्यसले एसइईमा अनुत्तीर्ण विद्यार्थीलाई त सहयोग पुग्छ नै, साथै स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीका लागि पनि सिकेका कुरा बाँडचुँड गर्ने अवसर बन्नेछ।
राष्ट्रिय परीक्षा बोर्डले एसइईमा अनुत्तीर्ण करिब अढाई लाख विद्यार्थीको मौका परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। सातै प्रदेशमा सञ्चालन हुने यस्तो परीक्षालाई मध्यनजर गरेर त्रिविले तत्कालै साथी सिकाइ अवधारणालाई अभ्यासमा उतार्ने निर्णय गरेको हो। त्यसैले यो अवधारणाको सफल कार्यान्वयनपछि ठूलो संख्याका विद्यार्थीलाई राहत पुग्नेमा शंका छैन। यसको अप्रत्यक्ष लाभचाहिँ खस्कँदो सिंगो शिक्षा प्रणालीले पाउनेमा दुई मत छैन।
हुनेले नहुनेलाई, सक्नेले नसक्नेलाई र सक्षमले अक्षमलाई सहयोग गर्ने हो भने सिंगो संसार समृद्ध हुन सक्छ। यो मानवीय कर्म पनि हो। अहिले त्रिविले यही मानवीयतालाई अभ्यासमा उतार्दै खस्कँदो शैक्षिक दुरवस्थालाई टेको लगाउने जुन प्रयास थालेको छ, त्यसको सराहना गर्नै पर्छ। त्यति मात्र हैन, यसबाट सबै क्षेत्रका अरूले पनि सिक्न सके भने सर्वकल्याण अवश्यम्भावी छ। करिब १० हजार ‘साथी शिक्षक’ सहभागी हुने अनुमान गरिएको यो कार्यक्रमको प्रभावकारिताका आधारमा आगामी दिनमा पनि निरन्तरता दिनु थप बुद्धिमानी कर्म हुनेछ।








