२०८३ साउन २ , शनिबार

यसरी ‘भोलेबाबा’ बने पूर्वप्रहरी जाटव



भारतको उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दरराव क्षेत्रको पुलराई गाउँमा मंगलबार आयोजित सत्संगमा भागाभाग हुँदा घाइते भएकामध्ये बुधबारसम्म १२२ जनाको मृत्यु भएको छ। सत्संग कार्यक्रमका वाचक अर्थात् कथाकार नारायण साकार हरि हुन्। सत्संगबारे जानकारी दिन हाथरसको सडकमा पोस्टर टाँसिएका थिए। नारायण साकारलाई सर्वसाधारणले ‘भोले बाबा’ र ‘विश्वहरि’को नामले पनि चिन्छन्।

सत्संग आयोजक समितिमा ६ जना थिए तर उनीहरूको मोबाइल फोन ‘स्विच अफ’ भएकाले स्थानीय प्रहरीले उनीहरूसँग सम्पर्क गर्न सकेको छैन। यो विषयमा गरिएको स्थलगत जाँच रिपोर्ट (एफआइआर) मा आयोजकहरूविरुद्ध मुद्दा दर्ता गरिएको छ। घटना विवरणमा नारायण साकारको प्रवचनको कार्यक्रम उल्लेख गरिएको छ।

को हुन् नारायण साकार हरि?

यी सत्संग बाबाको वास्तविक कथा कुनै फिल्मको भन्दा कम छैन। प्रहरी जवानको जागिर छाडेर सत्संगको बाटो अपनाएका सुरजपाल जाटवले छोटो समयमै लाखौं भक्तजन कमाएका छन्। उनी एटा जिल्लाबाट छुट्टिएर बनेको कासगन्ज जिल्लामा पर्ने पटियाल बहादुरपुर गाउँका बासिन्दा हुन्।

जागिरको सुरुवाती दिनहरूमा उनी उत्तर प्रदेश प्रहरीको स्थानीय गुप्तचर एकाइमा थिए। लगभग २८ वर्षपहिले यौन दुव्र्यवहारको मुद्दा लागेपछि उनी निलम्बनमा परेका थिए। त्यसअघि उनले करिब १८ प्रहरी चौकी र स्थानीय गुप्तचर निकायमा काम गरिसकेका थिए।

इटावाका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय कुमारका अनुसार सुरजपाल यौन दुव्र्यवहारको मुद्दामा लामो समयसम्म इटाह जेलमा थुनिएका थिए। जेलबाट छुटेपछि मात्रै उनी भोले बाबाको रूपमा जनतासामु आएका हुन्।

प्रहरी सेवाबाट बर्खास्त गरिएपछि त्यसविरुद्ध उनी अदालत गएका थिए। अदालतको आदेशमा जागिरमा पुनर्बहाली भएका उनले सन् २००२ मा सेवाबाट स्वेच्छिक अवकाश लिए। प्रहरी सेवाबाट अवकाश लिएपछि उनी आफ्नो गाउँ बहादुरपुर पुगेका थिए।

गाउँमा केही दिन बसेपछि उनले भगवान्सँग संवाद भएको दाबी गर्दै आफूलाई भोले बाबाको रूपमा चिनाउन थाले। लोकप्रियता कमाउँदै गएका उनलाई भक्तहरूले विभिन्न नामले बोलाउन थाले। हजारौं सहभागी हुने ठुलाठुला कार्यक्रम उनको नाममा आयोजना हुन थाले।

इटावाका वरिष्ठ प्रहरी उपरीक्षक कुमारका अनुसार ७५ वर्षीय सुरजपाल तीन भाइभाइमध्ये जेठा हुन्। महिलो भाइ भगवान् दासको मृत्यु भइसकेको छ। कान्छा भाइ राकेशकुमार हुन्, जो विगतमा गाउँपालिकाको अध्यक्ष भएका थिए। सुरजपाल पछिल्ला वर्षमा आफ्नो गाउँ विरलै जाने गरेको पुष्टि भएको छ। तर बहादुरपुर गाउँमा उनको नाममा एउटा परोपकारी संस्था सक्रिय छ।

धेरै आश्रम, दान र दक्षिणामा बन्देज

चाखलाग्दो पक्ष के छ भने नारायण साकारले आफ्ना भक्तहरूबाट कुनै दान, दक्षिणा वा भेटी लिँदैनन्। तापनि उनको नाममा धेरै आश्रम स्थापना भएका छन्। उत्तर प्रदेशका कैयौं स्थानमा थप आश्रम स्थापना गर्ने तयारी पनि भइरहेको छ।

सत्संगमा उनी भक्तहरूको सेवकको रूपमा देखिन्छन्। भक्तहरूमाझ लोकप्रिय बन्न उनले यसो गरेको मानिएको छ। सेतो पहिरनमा देखिने उनी धेरैजसो पाइजामा, कुर्ता, पाइन्ट–सर्ट र सुट लगाउँछन्। उनी इन्टरनेट र सामाजिक सञ्जालमा धेरै लोकप्रिय छैनन्। उनको फेसबुक पेजमा धेरै लाइक पनि देखिँदैन। तर तल्लो तहमा उनका भक्तहरूको संख्या लाखौंमा छ र हरेक सत्संगमा हजारौं भक्तजनको भिड लाग्छ। यस्ता कार्यक्रममा सयौं स्वयंसेवकले सेवाको जिम्मा लिने गर्छन्। भक्तजन समितिले पानी, खानादेखि ट्राफिक व्यवस्थापनको पहल गरेको पाइएको छ।

उत्तर प्रदेश पुलिस सेवाबाट अवकाश प्राप्त रामनाथसिंह यादवका अनुसार तीन वर्षअघि नारायण साकारले इटावाको प्रदर्शनी मैदानमा एक महिना सत्संग आयोजना गरेका थिए। त्यतिबेला सत्संग कार्यक्रममा अराजकताको वातावरण देखिएको थियो। स्थानीय बासिन्दाले भविष्यमा गरिने उनका कार्यक्रमलाई अनुमति नदिन प्रशासनका अधिकारीलाई अनुरोधसमेत गरेका थिए।

नारायण साकारले सत्संगमा मानवताको सन्देश दिने गरेको उनका भक्तसमेत रहेका समाजवादी पार्टीका नेता अनवरसिंह जाटव बताउँछन्। ‘बाबा (नारायण साकार) ले मानिसलाई मायाले बाँच्न र एकताबद्ध रहन आग्रह गर्नुहुन्छ,’ अनवरसिंहले भने।

उनका अनुसार नारायण साकार सत्संगमा मोबाइलको प्रयोगको आलोचना गर्छन्। प्रवचन हुने स्थानमा समिति बनाइने र सोही समितिलाई सबै कार्यको जिम्मेवारी दिइन्छ। सत्संग सफलतापूर्वक सञ्चालन गर्न समितिका सदस्यले आपसमा चन्दा संकलन गरेको पाइएको छ।

मानव मंगल मिलन सेवा समितिको ब्यानरमा मंगलबार इटावामा सत्संग आयोजना गरिएको थियो। समितिका अध्यक्ष राजकिशोर यादवले भने, ‘बाबाको कुनै सत्संगको कार्यक्रम हुँदा त्यसको पूर्वजानकारी गराइन्छ, त्यसकै आधारमा समितिमार्फत सम्पूर्ण व्यवस्था मिलाइन्छ।’ –(बिबिसी हिन्दी सेवाबाट)

नेपालद्वारा दुःख प्रकट

भारतको उत्तर प्रदेशमा आयोजित सत्संग कार्यक्रममा भागाभाग हुँदा भएको मानवीय क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार सामाजिक सञ्जालमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गरेको हो। मन्त्रालयले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहीबार