नारायणगढ स्थित लायन्स चोकका कृष्णहरी आचार्यको घरमा फोहोर उठान नआएको दश दिन भइसक्यो। ६ जना परिवार रहेको उनको घरमा दैनिक निस्कने फोहोर व्यवस्थापन गर्न निकै कठिन छ। ‘हिजोआज फोहोर लिने गाडी आउँदैन, थुपारेको फोहोरले दुर्गन्धित भइसक्यो’, आचार्यले भने, ‘फोहोर लिन नआएपछि जहाँ फोहोर थुप्रेको छ त्यही लगेर फाल्ने गरेका छौँ।’
फोहोरको दुर्गन्धले रोग फैलिने हो कि भन्ने त्रास आचार्यको परिवारलाई छ। ‘अहिले बजार नै दुर्गन्धित भएको छ।’ उनले भने, ‘फोहोरको दुर्गन्धले बाहिर निस्कन सक्ने अवस्था छैन।’
फोहोरको समस्या झेल्दै आएका उनी एक पात्र हुन्। उनी जस्तै थुप्रै नारायणगढ र भरतपुर क्षेत्रबाट फोहोर नउठेर आक्रान्त छन्। महानगरपालिकामा गत बुधबारदेखि फोहोरले विकराल रूप लिएको छ। तैपनि महानगरपालिकाले काममा तदारुकता देखाएको छैन। घरमा फोहोर लिन नआएपछि नारायणगढ बजार बासीले सडकमा फोहोर फाल्न थालेका छन्। जसको असर बटुवा देखि व्यवसायीलाई समेत पर्न गएको छ। ‘नारायणगढ क्षेत्रमा हिँड्न सक्ने अवस्था छैन।’ बजारमा किनमेल गर्न आएकी गैँडाकोटकी गीता पराजुलीले महानगरपालिका प्रति प्रश्न गर्दै भनिन्, ‘स्थानीय सरकारले के हेरेर बसेको छ यस्तो हुँदासम्म।’
भरतपुर महानगरपालिकामा घुमौँ भ्रमण वर्ष सुरु भएको छ। महानगरपालिकाले प्रचारप्रसारलाई सोही रुपमा तीव्र पारेको छ। नारायणगढमा थुप्रिएको फोहोरलाई देखाएर सामाजिक सञ्जालमा समेत भरतपुर भ्रमण वर्षको व्यङ्ग गर्न थालिएको छ।
भरतपुर महानगरपालिकामा वातावरणीय सुन्दर नेपाल प्रालि र वेष्ट म्यानेजमेन्ट नेपाल प्रालिले फोहोर उठाउने जिम्मा पाएको छ। तर, फोहोर लगेर फाल्ने ठाउँ नहुँदा उठाउन नसकिएको वेष्ट म्यानेजमेन्ट प्रा.लिका प्रबन्धक देवप्रसाद घिमिरेले बताए। ‘फोहोर सङ्कलनमा अवरोध हुन थालेको एक महिना जति हुन पुग्यो। बिचमा एक साता कुरा मिलाएर फोहोर उठाएका थियौँ’, उनले भने, ‘अहिले फोहोर व्यवस्थापन गर्ने स्थानमा जनताले नदिएपछि हामीले फोहोर उठाएका छैनौँ।’ बर्खामा प्रत्येक वर्ष समस्या आउने उनले बताए। ‘महानगरपालिकाले नारायणी किनारमा फोहोर फाल्न भनेको छ। त्यहाँ अहिले पानी छ,’ उनले भने ‘नदीमा फाल्ने कुरा भएन अन्यन्त्र हामीलाई ठाउँ उपलब्ध गराइएको छैन।’
भरतपुर महानगरपालिका वडा नम्बर १ देखि ११ सम्मको फोहोर यी दुई संस्थाले संकलन गर्ने गर्दछन्। त्यहाँको फोहोर नारायणी नदीको किनारमा व्यवस्थापन गर्दै आएका थिए। अहिले नदीमा पानीको सतह बढेका कारण फोहोर सङ्कलनमा कठिनाइ आएको महानगरपालिका वातावरण शाखा प्रमुख सुरज पौडेलले जानकारी दिए।
‘अहिलेसम्म नारायणी नदीको किनारमा नै फोहोर व्यवस्थापन गर्ने गरेका थियौँ। नदीमा पानीको सतह बढेपछि अन्य स्थानमा विकल्प छैन, पौडेलले भने ‘त्यहाँ जनताले फोहोर फाल्न नदिएपछि नारायणगढ र भरतपुर क्षेत्रको फोहोर उठाउन सकेका छैनौँ।’ महानगरपालिकाले तत्काल भरतपुरको जलदेवी सामुदायिक वन, जोरकुशुम पार्कको भूक्ष्य क्षेत्र र रामनगरभन्दा तल जङ्गलको खाडलमा फोहोर फाल्नको लागि उपयुक्त क्षेत्र भनेको छ। तर, त्यहाँका नागरिकले विरोध गरेपछि महानगर पछि हट्यो।
महानगरले सरसफाइ शुल्क प्रति फ्ल्याट ५० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म लिने गरेको छ। दैनिक फोहोर उठाउने क्षेत्रमा प्रति फ्ल्याट १ सय ६०, हप्तामा तीन दिन उठाउने क्षेत्रमा १ सय ३०, हप्तामा दुई दिन उठाउने ठाउँको ८० र हप्तामा एक दिन उठाउने क्षेत्रको प्रति फ्ल्याट ५० रुपैयाँ शुल्क उठाउने गरेको छ।
महानगरपालिकामा एक हप्तायता फोहोरले विकराल रूप लिएको छ। तैपनि महानगरपालिकाले काममा तदारुकता देखाएको छैन। भरतपुर महानगरपालिकाबाट दैनिक ७० टन फोहोर उठ्छ। त्यसको ७० प्रतिशत फोहोर १ देखि ११ नम्बर वडामा निस्कन्छ। तर, यो फोहोर तत्काल व्यवस्थापन गर्न कठिन रहेको उनले बताए। ‘हामीले उठाएर फाल्ने ठाउँ छैन। फोहोर फाल्ने ठाउँमा जनताले नै अवरोध गर्दै आउनुभएको छ।’ उनले भने, ‘हाम्रो तर्फबाट प्रयास गरेका छौँ केही दिनमा विकल्प आउला।’ महानगरपालिका प्रमुख रेनु दाहालको सचिवालयले भने फोहोरको व्यवस्थापन भोलिदेखि हुने बताएको छ। पहिलेकै ठाउँ नारायणी किनारमा फोहोर व्यवस्थापन हुने गरी सहमति भएको सचिवालयले जानकारी दिएको छ।
भरतपुरमा दीर्घकालीन फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइट नहुँदा समस्या आएको हो। महानगरपालिकाले केही वर्षदेखि नीति तथा कार्यक्रममा नै ल्याण्डफिल्ड साइटको विषय समावेश गर्दै आएको छ। तर, अहिलेसम्म काम हुन सकेको छैन। दक्षिण कोरियाको सुडोनान ल्याण्डफिल साइट म्यानेजमेन्टको सहयोगमा महानगरको वडा नम्बर ११ को जलदेवी सामुदायिक वनमा ल्याण्डफिल्ड साइट बनाउने योजना महानगरको थियो। तर, सो कम्पनीले छाडेर गएपछि योजना अगाडि बढ्न सकेन।








