वरिष्ठ डेउडा गायक महेशकुमार औजीको एक दशक अघिदेखि चर्चामा रहेको देउडा गीत ‘कलेजी कटाउन्या माया’ को नयाँ भर्सन सार्वजनिक भएको छ। करिब एक दशकअघि बैतडी घर भएका गायक तथा संगीतकार औजीले कलेजी कटाउन्या माया बजारमा ल्याएका थिए। खासगरी, सुदूरपश्चिम र कर्णालीमा निकै चर्चामा आएको गीत नयाँ स्वरूपमा बजारमा ल्याइएको हो।
नेपमेलोको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक नयाँ गीतमा भने गायकद्वय महेशकुमार औजी र बादल थापाले स्वर दिएका छन्। महेश स्वयंको शब्द र संगीत रहेको गीत कमल सौरागले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा चक्र बम, जोन बम र कविता न्यौपानेले अभिनय गरेका छन्। ढोरपाटनमा खिचिएको भिडियोमा उनीहरूको प्रेम-बिछोडको कथा देखाइएको छ।
शान थापाको निर्देशनमा तयार भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन्। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन्। देउडा गायन क्षेत्रमा निकै रुचाएका गायक तथा संगीतकार महेशकुमार औजीले जीवन भोगाइ शब्द समेटेर गीत ल्याउने गरेका छन्। उनले बजारमा ल्याएका हरेक गीत चर्चामा रहने गरेका छन्।
‘कलेजी कटाउन्या माया’को नयाँ भर्सन पनि श्रोता तथा दर्शकको रोजाइमा पर्ने विश्वास रहेको औजीको भनाइ छ। लामो समयदेखि सुदूरपश्चिमको लोक गायनमा उनी समर्पित छन्। प्रत्येक वर्ष उनी रत्न पुरस्कारबाट सम्मानि हुँदै आएका छन्। सुदूरपश्चिमी भाषाका ५ सयभन्दा बढी गीत सिर्जना गरेका उनले सयौं गीतमा स्वर पनि दिएका छन्।
बैतडीको पञ्चेश्वर बिजुलमा जन्मिएका औजी अहिले राष्ट्रिय कलाकारका रूपमा स्थापित छन्। अझैं आफ्नो कला र संस्कृतिलाई चिनाउन लागिपर्ने गायक औजीको भनाइ छ।
‘कलेजी कटौन्या माया’ ‘अनिता एै बिराना देश मत’, लगायत थुप्रै चर्चित डेउडा गीत गाएर आफ्नो पहिचान बनाएका औजी दर्शक र स्रोतामाझ लोकप्रिय छन्।








