२०८३ साउन १ , शुक्रबार

पहिरोले घर बगाउँदा स्याङ्जा, तनहुँ र पर्वतमा गरि आठजना बेपत्ता



अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेकी हिरा नेपाली र सुनमाया कुमालको घरको सामान सार्ने क्रममा आएको पहिरोमा परेर तीनजना बेपत्ता भएका छ । त्यहाँ चारजना घाईते भएका छन। बेपत्ता हुनेमा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षिय श्याम भण्डारी रहेको प्रदेश प्रहरी कार्यालयले बताएको छ।

त्यस्तै स्याङजाको विरुवा गाउँपालिका–६ अर्चलेमा पनि पहिरोमा परेर तीनजना बेपत्ता भएका छन। प्रहरीका अनुसार पहिरोमा परेर ६५ वर्षिय इश्वरी शर्मा मरासिनी, ७१ वर्षिय माधव शर्मा र उनकी श्रीमती ६७ वर्षिया हरिमाया शर्मा बेपत्ता भएको प्रहरीले बताएको छ। आफ्नो घर पहिरोको जोखिममा परेको भन्दै छिमेकीको घरमा बसेका उनीहरुलाई छिमेकीकै घर पहिरोमा परेका थिए।

त्यस्तै पर्वतमा पनि पहिरोमा परेर दुइजना बेपत्ता भएका छन। प्रहरीका अनुसार पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटास्थित कुलबहादुर उपाध्यायको घर पहिरोले बगाउँदा ४० वर्षिय झलकप्रसाद शर्मा र ३३ वर्षिय तुलसी प्रसाद शर्मा बेपत्ता भएको प्रहरीले बताएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रवीन्द्र रेग्मीका अनुसार पहिरोमा परेका आठजनाको खोजि भईरहेको छ। ‘पहिरोमा परेका सबैजनाको खोजि भईरहेको छ। अवस्था यकिन छैन। प्रहरी, स्थानीबासि परिचालित छन,’ उनले भने, ‘अविरल वर्षापछिको पहिरोले धेरैतिर क्षति गरेको छ।’

प्रकाशित मिति : २०८१ असार २३ गते शनिबार