२०८३ साउन १ , शुक्रबार

लघुकथाकार उमानाथ दाहालकाे ‘सनेस’को लाेकार्पण



साहित्यकार उमानाथ दाहालकाे सनेस लघुकथासङ्ग्रहको लाेकार्पण भएको छ।

कौशलटार, भक्तपुरको किङ्स क्याफेमा सो कार्यक्रम हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीको सभापतीत्वमा सम्पन्न भयो। लघुकथा गान बजाएर कार्यक्रमको सुरू गरिएको थियो। हाम्रो लघुकथा केन्द्रका सदस्य वन्दना घिमिरेले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेकी थिइन्।

सभापति लगायत मञ्चासिन व्यक्तित्वहरू प्रमुख अतिथि देवी नेपाल, विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी र डम्बर घिमिरे, कृतिकार उमानाथ दाहाल, कृतिकारका धर्मपत्नी उर्मिला अधिकारी दाहाल, इन्दिरा चापागाईँ र शेखर अर्यालले कृतिको सामूहिक लाेकार्पण गरेका थिए।

उक्त अवसरमा समीक्षकद्वय इन्दिरा चापागाईँ र शेखर अर्यालले लघुकथाका सैद्धान्तिक पक्षमा आधारित रहेर कृतिगत गुण दोष केलाएका थिए। कृतिभित्र समाविष्ट ६२ लघुकथामा अधिकाँश लघुकथामा बिम्ब , प्रतीक, व्यङ्ग्य भाव,संवाद , गैर संवादको प्रयोग भएको , कृतिमा सामाजिक विकृति र यथार्थता , राजनीतिक विसङ्गति , महिला र बुढ्यौली वर्गका समस्या, देशप्रेम र राष्ट्रियता विषयमा उठान गरिएको बताए। लघुकथाका मापदण्डलाई आत्मसात गरेर लघुकथा लेखिए पनि वर्ण विन्यास , पदसङ्गती र शिष्ट भाषामा लघुकथा लेखिनुपर्ने सुझाएका थिए।

सताक्षीधाम साहित्य संगम र हाम्रो लघुकथा केन्द्रको संयुक्त आयोजना भएको सनेस लघुकथासङ्ग्रहको विमोचन र विमर्शन कार्यक्रमलाई संकेत गर्दै विशिष्ट अतिथि ध्रुव मधिकर्मीले साहित्यिक संस्थाहरू बीचको सहकार्य हुनुले परिणाम सुखद रहने बताउँदै कृतिकार दाहाललाई शुभकामना दिए।

अर्का विशिष्ट अतिथिहाँस्यव्यङ्ग्यकार डम्बर घिमिरेले शुभकामना मन्तव्यको क्रममा ञणझ को कथा सुनाएर वातावरण रोमाञ्चक बनाए।

कार्यक्रममा विमोचित कृतिबाट निर्मला बरालले परिवर्तन , रचना दाहालले भगवान र गरिमा पन्तले अलपत्र शीर्षकका लघुकथा वाचन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि नेपालले मन्तव्यको क्रममा कृतिकार दाहालको व्यक्तित्वमाथि आफ्नो धारणा प्रकाश पारेका थिए। कृतिकार व्यक्ति मात्र नभएर सिङ्गो संस्था हुन् ,झ उनको कथन थियो। धेरै संस्थासँगै हाम्रो लघुकथा केन्द्रको स्थापना पनि कोरोना कालको उपज रहेको र केन्द्रले महिलालाई प्राथमिकतामा राखेर राम्रो काम गरिरहेको बताए। मन्तव्यकै क्रममा उनले उपस्थित रक्तवंश र शब्दवंशलाई एकमुष्ट धन्यवाद दिएका थिए।

कृतिकार दाहालले झापादेखि राजधानी आएर केन्द्रसंग सहकार्य गर्न पाएकोमा खुसी प्रकट गर्दै उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

अध्यक्ष लता केसीले केन्द्रका गतिविधिमाथि प्रकाश पार्दै झापालीले राजधानीबासीका लागि सनेस बोकेर आएकोमा खुसी व्यक्त गर्दै आभार प्रकट गरेकी थिइन्।कृतिकार लगायत कार्यक्रममा सहयोग र समर्थन जनाउने सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेकी थिइन्।

प्रस्तोता मन्दिरा चापागाईँले सञ्चालन गरेको सो कार्यक्रममा रामराजा केसी , ध्रुुवराज थापा, मनीषकुमार शर्मा समित, अन्जु थपलिया , मन्दिरा मधुश्री , ममता मृदुल , बिन्दु ढकाल , सुस्मिता अधिकारी, श्रीराम राई , प्रार्थना खनाल लगायत् लगभग ४ दर्जन साहित्यकार र आफन्तहरूको बीचमा कार्यक्रम भव्यरूपमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतबार