२०८३ साउन १ , शुक्रबार

प्रहरी परिसर काठमाडौं भद्रकाली सर्‍यो, उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा



जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबादेखि काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा प्रदान सुरु गरेको छ।

यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतबारदेखि भद्रकालीमा आफ्नै नयाँ भवनबाट सेवा प्रदान सुरु गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आए पनि विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा प्रदान गर्दै आएको थियो।

यस्तै,नयाँबानेश्वरस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय आजबाट टेकुमा सरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौं टेकुबाट भद्रकालीमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा सरेको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयको भवन पनि भद्रकालीमा नै बनिरहेको छ, तर तयार भएको छैन।

२०७२ सालको भूकम्पपछि हनुमानढोकाबाट विस्थापित प्रहरीले टेकुमा पालमा बसेर सेवा दिइरहेको थियो। लामो प्रयासपछि प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो।

जिल्ला प्रहरी परिसर भद्रकालीस्थित भवन कुल ८० करोड रुपैयाँ लगानीमा निर्माण गरिएको जनाइएको छ। भवन आठ तलाको छ।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार