२०८३ साउन १ , शुक्रबार

उसले छाडेर गएको किताब



उसले एक दिन आएर

मेरो हातमा एउटा किताब थमायो

मुसुक्क हाँस्दै,

पढ्नु है भनेर गयो।

त्यो गुलाबी गाथा भएको किताब

पहिलो पानामा लेखिएको थियो

मेरी प्यारी उनीको सम्झनामा।

किताबको पहिलो अंशमा थिए

कविताहरू

सबै उसको प्यारी उनीको बारे लेखिएको।

उनको चम्किलो मुहार,

उनको मधुरो हाँसो,

उनको गाजलु आँखा र

उनले गाउने भाकाहरूको

बयानले भरिएको।

किताबको दोस्रो अंशमा थिए

निबन्धहरू

यी पनि सबै उनकै नामको।

उनी खुसी हुँदा गर्ने हर्कतदेखि

दुःखी हुँदा आँसु झार्दै

खाना खाने बानीसम्म,

रिसाउँदा आँखा तर्दै हेर्नेदेखि

उनको मनपर्ने गीत आउँदाको उत्साहसम्म,

सबैको व्याख्यात्मक टिप्पणीले भरिएको।

तेस्रो अंशमा समेटिएका थिए

कथाहरू

यिनमा पनि थिए उनकै गाथाहरू

तर कथाहरूमा भने पात्र थिए दुई

उनी र उ।

जसमा कल्पना गरिएको थियो,

रोमाञ्चक यात्राहरूको

एक अर्काको साथ।

किताबको अन्तिम पाना

पल्टाउँदै गर्दा

मनमा अनेक भावना खेल्न थाले,

कति रमाइलो हुन्थ्यो

यदि उसले यो किताब

उसको उनीलाई दिन सकेको भए।

वा

परिस्थित बेग्लै हुन्थ्यो,

मैले आफ्नो भावना

उ समक्ष राख्न सकेको भए।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार