२०८३ साउन १ , शुक्रबार

खोटाङमा ‘परिबन्धन’ उपन्यासकाे लोकार्पण



टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले उपन्यासकार नवराज राई ‘पल्टने’ को उपन्यास ‘परिबन्धन’ लोकार्पण गरेको छ।

खोटाङकाे सदरमुकामस्थित शुभम फाउण्डेसनमा भएकाे कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा- २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, साहित्यकार एमसी सुमित, हेमविक्रम राई लगायतले परिबन्धन लोकार्पण गरेका हुन्।

साहित्यकार एमसी सुमित र हेमविक्रम राईले परिबन्धन उपन्यासकाे समीक्षात्मक टिप्पणी गरेका थिए। समीक्षकद्वयले उपन्यासको विषयवस्तु र प्रस्तुतिबारे प्रस्टयाएका थिए।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका उपन्यासकार राई भारतीय सेनामा कार्यरत छन्। परिबन्धन उनकाे पहिलो कृति हो। उपन्यासमा पूर्वी नेपालको पहाडी गाउँको मर्मस्पर्शी प्रेम कथा चित्रित छ। दिनेश पौडेलले उक्त कृतिकाे सम्पादन गरेका हुन्।

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङका अध्यक्ष भोगन एक्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ सोल्माका वडाध्यक्ष राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री लगायतले शुभकामना दिएका थिए।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमबार