खेतीयोग्य जमिन बाँझो हुँदै जाँदा यो वर्ष धान रोपाइँमा करिब ४० हजार हेक्टर क्षेत्रफल घट्ने देखिएको छ।
धान रोप्ने खेत घडेरीमा परिणत हुनु, कामदार अभावले जमिन बाँझो रहनु र सिँचाइको अभावका कारण धान रोपणक्षेत्र खुम्चिएको हो।
पोहोर १४ लाख ३८ हजार नौ सय ८९ हेक्टरमा धान रोपण भएको थियो तर यस वर्ष १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर क्षेफलमा मात्र हुने अनुमान गरिएको काफ्लेले बताए।
समयमा वर्षा भएका कारण अहिले धमाधम धान रोपाइँ भइरहेको छ तर धान रोप्ने क्षेत्रफल खुम्चिएको कृषि विभागले जनाएको छ। यो वर्षको असार २३ गते (आइतबार) सम्म ४२.६ प्रतिशत रोपाइँ भएको कृषि विभागका प्रवक्ता डा. अरूण काफ्लेले बताए। ‘विगतको तुलनामा ४० हजार हेक्टर क्षेत्रफलमा कम रोपाइँ हुने अनुमान छ,’ काफ्लेले भने, ‘यसको असर उत्पादनमा पर्छ।’
काफ्लेका अनुसार अहिलेसम्म पाँच लाख ९५ हजार एक सय २९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। विभागका अनुसार सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा ८६ प्रतिशत र कम मधेश प्रदेशमा २५.५ प्रतिशत धान रोपाइँ भएको छ। कर्णाली प्रदेशमा ४७.५ प्रतिशत, गण्डकीमा ४९.७ प्रतिशत, लुम्बिनीमा ४४.४ प्रतिशत, बागमतीमा ४०.२ प्रतिशत, कोसीमा ३४.४ प्रतिशत धान रोपाइँ भएको छ।
धान उत्पादनको क्षेत्रफल र उत्पादन खुम्चिँदा बर्सेनि अर्बौं रूपैयाँको धान, चामल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा करिब २१ अर्ब रूपैयाँको धान–चामल आयात भएको छ। भन्सार विभागका अनुसार ११ महिनामा ३९ करोड किलो धान–चामल आयात भएको छ।
भारतदेखि अमेरिकासम्मबाट चामल आयात भएको छ। यस अवधिमा ८८ करोड ६५ लाख २१ हजार रूपैयाँको २१ लाख सात हजार दुई सय ३३ किलो धानको बिउ, ११ अर्ब ५५ करोड २५ लाख रूपैयाँको धान, आठ अर्ब ६९ करोड रूपैयाँको चामल आयात भएको तथ्यांक विभागसँग छ।
किसानलाई उन्नत जातको धानको बिउ, आवश्यक परेका बेला रासायनिक मल, सिँचाइ सुविधा, धान रोप्न मेसिन औजार आदिको व्यवस्था गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको सरोकारवाला बताउँछन्। धानको उत्पादन र उत्पादकत्व घट्दा र उपभोग बढ्दा नेपालले चामलमा विदेशको भर पर्नुपरेको छ।
धान उत्पादन बढाउन नसक्दा चामल आयात गर्नुपरिरहेको विज्ञहरू बताउँछन्। धान उत्पादन बढाउन किसानलाई आवश्यक बिउ, सिँचाइदेखि रासायनिक मलको उपलब्धता सहज हुनुपर्छ। नेपाली उपभोक्ताले छिमेकी मुलुक भारत, चीनदेखि अमेरिकामा उत्पादन भएको मिठो–मसिनो चामल प्रयोग गर्दै आएका छन्।
त्यसैगरी, भियतनाम, थाइल्यान्ड, भुटानबाट पनि नेपालमा चामल आयात हुन्छ। कुनै बेला चामल निर्यात गर्ने नेपाल अहिले परनिर्भरताको अवस्थामा पुगे पनि उत्पादन बढाउन ठोस काम हुन सकेको छैन। सरकार र राजनीतिक नेतृत्वले कृषि आत्मनिर्भरताको नारा दिए पनि व्यवहारमा त्यस्तो देखिएको छैन। कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण नहुँदा उत्पादन बढ्न नसकेको हो।
उत्पादन बढाउन हाइब्रिड धान खेतीमा प्रोत्साहन, सिँचाइ सुविधाको विस्तार, मलको नियमित आपूर्ति, चैते धान खेती विस्तार गर्ने योजना बनाएको सरकारले जनाएको छ। परम्परागत खेती प्रणालीले पनि उत्पादन बढ्न सकेको छैन। सिँचाइ, मल र बिउ अभाव, गुणस्तरीय बिउ प्रतिस्थापन दर न्यून, माटोमा प्रांगारिक पदार्थ न्यून भई उर्वराशक्ति कमजोर हुनु र सन्तुलित मलखादको अभावले उत्पादकत्व वृद्धि हुन नसकेको धानविज्ञ बताउँछन्।








