२०८३ साउन १ , शुक्रबार

हिमाली जिल्लामा हवाई सेवा पुनः सुचारु



मौसममा सुधार आएसँगै हिमाली जिल्लामा हवाई सेवा पुनः सुचारु भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीका अनुसार, सोमबारदेखि जुम्लामा हवाई सेवा सुचारु भएको हो। जुम्लामा बुधबार मात्र चार विमानले उडान भरेका थिए।

उनका अनुसार नेपाल एयरलाइन्सका एक विमान, दुई वटा समिट एयर, र एक तारा एयरले उडान भरेका हुन्। मंगलबार पनि समिट एयरले एक उडान भरेको प्रमुख अधिकारीले जनाए।

नेपाल एयरलाइन्स, सीता, समिट र तारा एयरले नेपालगन्जदेखि जुम्ला उडान भर्दै आइरहेका छन्।

त्यस्तै, रारा विमानस्थलमा पनि आजदेखि हवाई उडान पुनः सञ्चालनमा आएको छ।

नागरिक उड्डयन प्राधिकरण राराका प्रमुख श्रीकृष्णका अनुसार, सात दिनदेखि अवरुद्ध हवाई उडान आजदेखि पुनः सञ्चालनमा आएको हो। उनका अनुसार मौसममा सुधार भई घाम लागेपछि नेपालगन्जबाट समिट र तारा एयरले रारा विमानस्थलमा दुई फ्लाइट उडान भरेका छन्।

यस्तै, हुम्लामा पनि साेमबार देखि हवाई सेवा सुचारु भएको छ। नागरिक हवाई उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्रबहादुर सिंहका अनुसार, हिजो तारा एयरले उडान भरेको थियो। हुम्लामा नेपालगन्जबाट तारा, समिट, र सीता एयरलाइन्सले उडान भर्दै आइरहेका छन्।

यसैगरी मुगुमा पनि हवाई सेवा मंगलबारदेखि सुचारु भएकाे छ। यहाँ भीषण वर्षाले हवाई र सडक यातायात दवै अवरुद्ध हुँदा जिल्लावासीले आवतजावतमा कठिनाइ भोगिरहेका थिए। हवाई सेवा सुचारु भएसँगै स्थानीयलाई केही राहत मिलेकाे छ।

प्रकाशित मिति : २०८१ असार २६ गते मंगलबार