हेरिटेज पर्यटनको पायोनियर होटल द्वारिकाजकी संस्थापक अम्बिका श्रेष्ठको निधन भएको छ। ९१ वर्षको उमेरमा बिहीबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनी निमोनिया र बाथरोगबाट पीडित थिइन्।
उनको परिवारले नेपालमा सबैभन्दा पहिले हेरिटेज होटल सञ्चालनको अवधारणा ल्याएको हो। उनको द्वारिकाज होटेल नेपालकै आर्किटेक्टहरूबाट बनाइएको एउटा कलात्मक शैलीको सम्पदाका रूपमा परिचित छ। उनमा नेपाली कला र संस्कृतिप्रतिको लगाव यति धेरै थियो कि यसलाई नै उनले आफ्नो व्यवसाय बनाइन् र विश्वजगत्मा चिनिइन्।
नेपालको पहिलो हेरिटेज होटल द्वारिकाजकी संस्थापक श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा हेरिटेज पर्यटनको प्रवद्र्धन गरी नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्याएकी थिइन्। उनकै कारण नेपालमा हेरिटेज होटल व्यवसायको सुरुआत भएको हो।
श्रेष्ठले सुरुआत गरेको हेरिटेज होटलको अवधारणाले आज नेपालमा थुप्रै हेरिटेज होटलले हजारौं स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइरहेका छन्। नेपालको कला–संस्कृतिलाई संवद्र्धन गरेर अगाडि बढ्ने श्रेष्ठको योगदानकै कारण अहिले बजारमा पर्याप्त मात्रामा हेरिटेज होटल बनिरहेका छन्।
स्वर्गीय श्रेष्ठले पर्यटन व्यवसायी मात्र नभई स्पेनका लागि नेपालको अनरेरी कन्सुलेट जनरलसमेतको भूमिका निर्वाह गरेकी थिइन्। यस्तै उनी नेपालको अग्रणी महिला उद्यमी, महिला उद्यमशीलता र सम्पदा संरक्षणको अभियन्ताका रूपमा समेत परिचित थिइन्।
सन् १९३३ मा भारतको सिक्किममा जन्मिएकी श्रेष्ठ विवाहपछि नेपालको पर्यटन क्षेत्रमा जोडिएका थिइन्। काठमाडौंको बत्तिसपुतलीमा उनका पति द्वारिकादास श्रेष्ठले २०२८ सालमा द्वारिकाज होटलको सुरुआत गरेका थिए।
यसैक्रममा २०४८ सालमा उनका पति द्वारिकादासको निधनपछि अम्बिकाले उक्त होटल सम्हालिरहेकी थिइन्। मौलिक चाडपर्व प्रवद्र्धन गर्ने, नेपाली कला संस्कृतिको संवद्र्धन र नेपालीपनलाई अत्यन्तै माया गर्ने उनी यी सबै रैथाने कला र संस्कृतिलाई व्यवसायीकरण गरेर मुलुकको पर्यटनलाई नयाँ आयाम दिएकी थिइन्।
उनी हेरिटेज कन्जर्भेसन सोसाइटीको अध्यक्षसमेत रहेकी थिइन्। सोसाइटीमा रहेर उनले नेपालको पर्यटनका कयौं नीति बनाउन भूमिका खेलेकी थिइन्। साथै, नयाँ पुस्तालाई समेत उनले आफ्नो ज्ञानको हस्तान्तरणमा सक्रिय रहेकी थिइन्।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठका दुई छोरी छन्। पति र छोराको यसअघि नै निधन भइसकेको छ। शुक्रबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ।








