२०८३ साउन १ , शुक्रबार

महिला एसिया कप :भारतद्धारा पाकिस्तान ७ विकेटले पराजित



महिला एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । श्रीलङ्काको दम्बुलामा शुक्रबार सम्पन्न भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटबाट हराएको हो ।

यस अघि पाकिस्तानी कप्तान निदा दारले टस जितेर पहिले ब्याटिङ गर्दै १९ दशमलब १ ओभरमा १०८ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

जवाफमा भारतले १४ दशमलब १ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पु्रा गरेको हो । भारतका लागि सबै भन्दा वढि स्मृति मानधनाले ४५ रन बनाइन ।त्यसैगरी शफाली वर्माले ४० तथा दयालन हेमलताले १४ रन बनाइन । पाकिस्तानका लागि सैयदा आरुब शाहले २ विकेट र नशरा सन्धुले १ विकेट लिइन ।

यस अघि पाकिस्तानका लागि सबै भन्दा वढि सिद्रा अमिनले २५ रन तथा तुबा हसन र फातिमा सानाले २२/ २२ रन बनाए । भारतका लागि दिप्ती शर्माले ३ विकेट तथा रेणुका सिंह,पूजा वस्त्रकार र श्रेयंका पाटिलले २ /२ विकेट लिए ।

पाकिस्तान र भारतकै समूहमा रहेको नेपाली टोलीले शुक्रबार नै भएको खेलमा युएईलाई ६ विकेटबाट हराएर विजयी शुरुवात गरेको छ ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार