काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले लिखित परीक्षा सञ्चालन नगरी पहिलो पटक १०० जना उपप्राध्यापकलाई स्थायी नियुक्ति गर्ने प्रक्रिया अघि बढाएको छ।
विश्वविद्यालयमा दक्ष, अनुभवी तथा अनुसन्धानमा सक्रिय जनशक्ति भित्र्याउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको त्रिविले जनाएको छ।यसअघि सीमित सङ्ख्यामा प्राध्यापक र सहप्राध्यापकलाई लिखित परीक्षा बिना नै नियुक्त गरिएको भए पनि उपप्राध्यापक तहमा भने यो पहिलो अभ्यास हो।
यसपटक उपप्राध्यापकका अतिरिक्त १० जना प्राध्यापक र २० जना सहप्राध्यापकसमेत यही प्रक्रियाबाट नियुक्त गरिने भएको छ। शिक्षण, अनुसन्धान र शैक्षिक प्रकाशनमा सक्रिय रहेका तथा स्वदेशी र विदेशी विश्वविद्यालयमा अध्यापन गरिरहेका योग्य व्यक्तिलाई त्रिविमा आकर्षित गर्न यस्तो व्यवस्था गरिएको हो।
त्रिवि सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालका अनुसार यस प्रक्रियालाई ‘फास्ट ट्र्याक’ अर्थात् द्रुत मार्गबाट शिक्षक नियुक्ति गर्ने विधि भनिएको छ। यसका लागि तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले विज्ञापनअनुसार आवेदन दिनुपर्नेछ। आवेदकले पेस गरेका शैक्षिक तथा अनुसन्धानसम्बन्धी कागजातका आधारमा आयोगले प्रारम्भिक छनोट सूची तयार गर्नेछ।
छनोटमा परेका उम्मेदवारलाई अन्तर्वार्तामा सहभागी गराई योग्यताका आधारमा स्थायी नियुक्तिका लागि विश्वविद्यालयसमक्ष सिफारिस गरिनेछ। यसरी नियुक्ति गर्ने आधार तयार पार्न त्रिवि कार्यकारी परिषद्ले ‘त्रिभुवन विश्वविद्यालय विशिष्टताका आधारमा खुला प्रतियोगिताद्वारा शिक्षक नियुक्तिको सिफारिससम्बन्धी विनियम, २०८२’ जारी गरेको छ।
विनियमअनुसार तीनै तहका प्राध्यापक पदका लागि कुल २०० पूर्णाङ्क निर्धारण गरिएको छ। जसमा अनुसन्धान कृति प्रकाशनका लागि १५०, शिक्षण सेवा तथा अनुसन्धान कार्यका लागि १०, शोध निर्देशन तथा अनुसन्धान पुरस्कारका लागि २० र अन्तर्वार्ताका लागि २० अङ्क छुट्याइएको छ।
सेवा आयोगले खुला, आन्तरिक र फास्ट ट्र्याक प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिका लागि २०८२ जेठमै विज्ञापन खुलाएको थियो। तर शिक्षक तथा कर्मचारीको विरोध र विश्वविद्यालयका पदाधिकारी परिवर्तनलगायत कारणले आवेदन सङ्कलन भए पनि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको थिएन।
पछिल्लो समय विश्वविद्यालयमा पदाधिकारी नियुक्ति तथा सेवा आयोगमा अध्यक्ष र सदस्य चयनको काम पूरा भएपछि रोकिएका नियुक्ति प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ। अहिले खुला तथा आन्तरिक प्रतिस्पर्धाका लिखित परीक्षाको नतिजा प्रकाशन, अन्तर्वार्ता सञ्चालन र अन्तिम नतिजा सार्वजनिक गर्ने कामसमेत भइरहेको छ।
आयोगका अनुसार केही विषयको लिखित परीक्षाको नतिजा आउन बाँकी छ भने लिखित परीक्षामा उत्तीर्ण शिक्षक तथा कर्मचारीको चार हजारभन्दा बढी अन्तर्वार्ता लिन बाँकी रहेको छ। त्रिभुवन विश्वविद्यालयले पहिलो पटक सातै प्रदेशमा आयोजना गर्न लागेको प्रादेशिक दीक्षान्त समारोहप्रति विद्यार्थीको अपेक्षाअनुसार आकर्षण देखिएको छैन।
यसअघि काठमाडौँमा मात्रै दीक्षान्त समारोह आयोजना हुँदा उपत्यकाबाहिरका विद्यार्थीलाई सहभागी हुन कठिनाइ भएको गुनासो आएपछि त्रिविले यस वर्षदेखि सबै प्रदेशमा समारोह आयोजना गर्ने निर्णय गरेको थियो।
कार्यकारी परिषद्को निर्णयअनुसार विद्यार्थीलाई आफू सहभागी हुन चाहेको प्रदेश छनोट गरेर आवेदन दिन आग्रह गरिएको थियो। तर आवेदन दिने अधिकांश विद्यार्थीले बागमती प्रदेश अर्थात् काठमाडौँमै आयोजना हुने समारोह रोजेका छन्।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार सातै प्रदेशमा हुने दीक्षान्त समारोहमा सहभागी हुन हालसम्म २१ हजार २७४ विद्यार्थीले आवेदन दिएका छन्। आगामी दीक्षान्त समारोहका लागि भने कुल ९५ हजार विद्यार्थी योग्य ठहरिएका छन्। उनीहरूको ग्रेसलिस्ट त्रिवि सभाबाट पारित भइसकेको छ।
परीक्षा नियन्त्रक प्राडा लक्ष्मण पौडेलका अनुसार बागमती प्रदेशमा आयोजना हुने समारोहमा सहभागी हुन सबैभन्दा धेरै १४ हजार ६९१ जनाले आवेदन दिएका छन्। त्यस्तै, गण्डकी प्रदेशका लागि दुई हजार २१५, कोशी प्रदेशका लागि दुई हजार १० र लुम्बिनी प्रदेशका लागि एक हजार ५१५ जनाले आवेदन दिएका छन्।
यसैगरी मधेश प्रदेशमा हुने समारोहमा सहभागी हुन ३६४, सुदूरपश्चिम प्रदेशमा २८१ र कर्णाली प्रदेशमा १५९ जनाले आवेदन दिएका छन्। विद्यार्थीको आवेदन अपेक्षाभन्दा फरक देखिए पनि यसपटक सातै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णयबाट पछि नहट्ने त्रिविका उपकुलपति प्राडा भोला थापाले बताउनुभएको छ।







