काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसदहरूको विदेश भ्रमणलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेको छ। विदेश भ्रमणको औचित्य, राज्यकोषबाट हुने खर्च र त्यसबाट प्राप्त हुने उपलब्धिबारे पार्टीकै सांसदहरूले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्।
रास्वपाकी केन्द्रीय सदस्य तथा सांसद टीका संग्रौला (ज्वाला)ले नेताहरूको विदेश भ्रमणप्रति प्रश्न उठाउँदै राज्यको धनराशि खर्च गरेर समूहगत रूपमा विदेश जानु गलत भएको टिप्पणी गरेकी छन्। उनले विगतमा अन्य दलका नेता तथा सांसदहरूले समूह बनाएर विदेश भ्रमण गर्दा विरोध गर्नेहरूले अहिले आफ्नै पार्टीका नेताहरूले त्यस्तै गतिविधि गर्दा सही भन्न नमिल्ने बताएकी छन्।
सम्बन्धित देशले नै खर्च बेहोर्ने गरी विज्ञ सांसदलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमण उचित हुन सक्ने उनको भनाइ छ। त्यस्तै, रास्वपाका सांसद गणेश कार्कीले विदेश भ्रमणमा जाने सांसदहरूले सरकारी खर्चमा गएको हो वा आफ्नै खर्चमा गएको हो भन्ने विषय सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–३१ मा सहभागी हुन टर्किए पुगेका सांसदहरूलाई लक्षित गर्दै उनले व्यक्तिगत इच्छाका लागि सरकारी रकम खर्च गर्न नहुने बताएका छन्।
सांसद आशिका तामाङले पनि राज्यको ढुकुटीबाट सांसदहरूले कति पटक विदेश भ्रमण गर्न पाउने र त्यस्ता भ्रमणबाट जनताले के उपलब्धि पाउने भन्ने प्रश्न उठाएकी छन्। संसदीय समितिका नाममा हुने विदेश भ्रमणबारे आफ्नै समितिका सदस्यहरूलाई समेत जानकारी नहुने गरेको उनको गुनासो छ।
उनले विदेश भ्रमणको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धि पारदर्शी रूपमा सार्वजनिक गर्नुपर्ने बताएकी छन्। सांसद राजु पाण्डेले पनि जिम्मेवारीमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने प्रवृत्तिप्रति व्यंग्य गरेका छन्।
रास्वपाका सांसद श्रीराम न्यौपानेले कोप–३१ मा सहभागी हुन आएको प्रस्ताव अस्वीकार गरेका छन्। प्रधानमन्त्री कार्यालयको सचिवालय र वन तथा वातावरण मन्त्रालयको सचिवालयबाट भ्रमणका लागि प्रस्ताव आएको भए पनि उनले आफ्नै खर्चमा जाने र नेपालको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर सुनिश्चित भएमा मात्र सहभागी हुने अडान राखेका थिए।
ऊर्जा क्षेत्रसम्बन्धी साइड इभेन्टमा नेपालको तर्फबाट प्रस्तुति दिने विषयमा औपचारिक पुष्टि हुन नसकेको र पूर्वनिर्धारित जनसंवाद कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले भ्रमणमा नगएको उनले बताएका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा उपस्थित हुनु मात्र उपलब्धि नभई नेपालको हितमा ठोस नीतिगत योगदान दिनु महत्त्वपूर्ण हुने बताएका छन्।
यसैबीच, रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० जना सांसदको टोली चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन गएको छ। आइतबार प्रस्थान गरेको उक्त टोलीको भ्रमण ११ दिनको हुने जनाइएको छ।
टोलीले बेइजिङ, हाङचोउ र सिचुवानलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। महामन्त्री आचार्यका अनुसार भ्रमणको सम्पूर्ण व्यवस्थापन चिनियाँ पक्षले गर्ने भएकाले नेपालको राज्यकोषबाट कुनै खर्च हुने छैन।
रास्वपाका सांसद रञ्जु दर्शना र शोभा खनाल मलेसियामा आयोजित एसियाली महिला सांसद ककस २०२६ मा सहभागी भएका छन्। कार्यक्रममा एसियाली देशका महिला सांसद तथा नेतृत्वकर्ताबीच साझा चुनौती, अनुभव र समाधानका उपायबारे छलफल भइरहेको छ।
त्यस्तै, सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्स जाने कार्यक्रम छ। नोभेम्बर १८ र १९ मा मनिलामा आयोजना हुने सम्मेलन फिलिपिन्स सरकारको आयोजना तथा विश्व स्वास्थ्य संगठन र युनिसेफको सहआयोजनामा हुन लागेको हो।
यसरी विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममा नेपाली सांसदहरूको सहभागिता भइरहेका बेला विदेश भ्रमणको उद्देश्य, खर्चको स्रोत, पारदर्शिता र त्यसबाट प्राप्त हुने उपलब्धिबारे रास्वपाभित्रै बहस सुरु भएको छ।







