२०८३ कात्तिक २९ , आइतबार

च्याटजिपिटी सिकाएर मासिक २२ लाख रुपैयाँभन्दा बढी कमाउँदै २० वर्षीय युवा



काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका २० वर्षीय साइबर सुरक्षा विषयका विद्यार्थी अंश पुनियाले कृत्रिम बुद्धिमत्ता (एआई) र च्याटजिपिटी प्रयोग गर्न सिकाएर मासिक २२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।

गोदाममा काम गर्दै अध्ययन गरिरहेका पुनियाले आफ्नो प्राविधिक सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्न सकिने सम्भावना देखेपछि एआईसम्बन्धी सेवा सुरु गरेका हुन्। अहिले उनले व्यक्ति तथा विभिन्न व्यवसायलाई एआई र च्याटजिपिटीको प्रभावकारी प्रयोग गर्न सिकाउँदै आएका छन्।

उनका अनुसार यस कामबाट उनले मासिक १५ हजार अमेरिकी डलरसम्म आम्दानी गर्ने गरेका छन्। यो रकम नेपाली रुपैयाँमा २२ लाख ६६ हजारभन्दा बढी हुन्छ। डेली मेलका अनुसार पुनियाले सुरुमा एयरटास्कर प्लेटफर्ममार्फत साना प्राविधिक काम लिएर आफ्नो यात्रा सुरु गरेका थिए। विस्तारै ग्राहकको विश्वास जित्दै गएपछि उनीसँग ठूला काम र नियमित परामर्शका अवसर आउन थाले।

पुनियाले मानिसहरूलाई एआई प्रयोग गर्न सिकाउने क्रममा उनीहरूको समय र पैसा बचत हुने समस्यालाई प्राथमिकता दिने गरेका छन्। एआईलाई केवल प्रविधिका रूपमा नभई दैनिक जीवनका समस्या समाधान गर्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ।

पछिल्लो समय अस्ट्रेलियामा बढ्दो जीवनयापन खर्चका कारण मानिसहरू घरायसी बजेट व्यवस्थापन, खर्च विश्लेषण तथा दैनिक काम सहज बनाउन एआईको प्रयोगतर्फ आकर्षित भइरहेका छन्।

एआईको सहयोगबाट परिवारले साप्ताहिक खानाको योजना बनाउन, किनमेल सूची तयार गर्न, विभिन्न वस्तुको मूल्य तुलना गर्न, बिल बुझ्न तथा अनावश्यक सदस्यता पहिचान गर्न सक्ने पुनिया बताउँछन्। त्यस्तै, व्यवसायमा प्रशासनिक काम स्वचालित बनाउन र समय बचत गर्न पनि एआई उपयोगी भइरहेको छ।

एयरटास्करका संस्थापक टिम फङका अनुसार प्लेटफर्ममा एआई कोचको माग अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर भएको छ। मानिसहरूले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि एआई प्रयोग गर्न सिक्न सामान्यतया १०० देखि १५० अमेरिकी डलरसम्म खर्च गर्ने गरेका छन्।

पुनियाले एआई प्रयोग गर्न प्रोग्रामिङ जान्नैपर्ने आवश्यकता नरहेको बताएका छन्। उनका अनुसार सही प्रश्न सोध्न र आफ्नो समस्या स्पष्ट रूपमा राख्न जानेमा च्याटजिपिटीबाट धेरै काम लिन सकिन्छ।

उनले नयाँ प्रयोगकर्तालाई च्याटजिपिटीको निःशुल्क संस्करणबाट सुरु गरी दैनिक जीवनको एउटा सामान्य समस्या समाधान गर्ने प्रयास गर्न सुझाव दिएका छन्। यद्यपि, एआईले दिने सबै जानकारी सही नहुन सक्ने भएकाले वित्तीय तथा स्वास्थ्यसम्बन्धी विषयमा यसको उत्तर जाँच गर्नुपर्ने र मानवीय निगरानी आवश्यक हुने उनको चेतावनी छ।

पुनियाको सफलताले एआईसम्बन्धी सीप केवल प्रविधिमा रुचि राख्ने व्यक्तिका लागि मात्र नभई सामान्य मानिसका लागि पनि आम्दानी र रोजगारीको नयाँ अवसर बन्न सक्ने सम्भावना देखाएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक २९ गते आइतबार