२०८३ साउन १ , शुक्रबार

बैङ्किङ कसुरमा एक जना पक्राउ



काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अरूको नागरिकता दुरुपयोग गरी बैङ्कमा खाता खोली बैङ्किङ कसुरजन्य कार्य गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ।

दोलखा साबिक नाम्दु गाविस–४ हाल परिवर्तित बैतेश्वर गाउँपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–७ चाबहिल बस्ने ३४ वर्षीय ध्रुवकृष्ण शर्मा पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

आचार्यले भने, ‘पक्राउ परेका शर्माले धनुषा शान्तिपुर–६ का सन्तोषसिंह दनुवारको नागरिकता दुरुपयोग गरी सन् २०२२/०४/०३ मा मुक्तिनाथ विकाश बैङ्क लिमिटेडको शाखा कार्यालय ठिमीलाई झुक्यानमा पारी आफ्नो फोटो र मोबाइल नम्बरसमेत राखी खाता खोलेको र उक्त खाताबाट चेकबुक निकाली र सो चेकबुकको दुरुपयोग गरेको भन्ने मुक्तिनाथ विकास बैङ्कको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

निजलाई काठमाडौँ महानगरपालिका–७ चाबहिलबाट बिहीबार पक्राउ गरी आज सार्वजनिक गरिएको सूचना अधिकारी आचार्यले बताए । उनले भने, ‘पक्राउ परेका शर्मामाथि थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।’

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रबार