नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका नाममा देशले अर्को जङ्गबहादुर नचाहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले यस्तो बताएका हुन्।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। ‘राजनीतिक स्थायित्वको नाममा जनताले अर्को जङ्गबहादुर खोजेका छैनन् । शासक बलियो बनाउने होइन, जनता बलियो बनाउने हो,’ अध्यक्ष नेपालले भने,‘सिस्टम र इन्स्टिच्युसन भत्काउन उद्धत हुनु भनेको प्रकारान्तरले देशलाई असफल बनाउनु हो ।
हामीलाई यस्तो प्रवृत्ति स्वीकार्य छैन ।’ शक्तिको केन्द्रीकरणले नै स्वेच्छाचारिताको जन्म हुने अध्यक्ष नेपालले बताए । ‘स्वतन्त्र चलेका संस्थालाई किन आफू मातहत ल्याइन्छ ? तीनलाई कज्याउने रहर किन जाग्छ ?,’ उनले भने । त्यसपछि साङ्केतिक रुपमा नेपाली कांग्रेसतर्फ लक्षित गर्दै नेपालले भने,‘बुझ्नेलाई इशारा काफी छ । यस्तो प्रवृत्तिलाई शक्तिमा पुर्याउन हौस्याउने साथीलाई भन्न चाहन्छु भोलि पछुताउन नपरोस् ।’








