२०८३ साउन १ , शुक्रबार

छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाहीको माग



छाउपडी बसेकी किशोरी बलात्कृत घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन्।

राष्ट्रियसभाको आज (साेमबार) को बैठकमा सांसद राजेन्द्रलक्ष्मी गैरेले अछाममा छाउपडीमा बसेकी किशोरीमाथि भएको बलात्कारको घटनाको छानबिन गरी दोषीमाथि कारafही गर्न सरकारसँग माग गरिन्।

सांसद पूजा चौधरीले इलामदेखि कञ्चनपुरसम्मको चुरे क्षेत्र, भावर क्षेत्रको जलाधार क्षेत्र क्षयीकरण हुँदै गएको विषयमा सरकारको ध्यानाकर्षण गराइन्।

यसबाट वातावरणीय समस्या बढ्दै गएको तथा पानीको स्रोत सुक्दै गएकाले त्यसप्रति गम्भीर बन्न सरकारसँग आग्रह गरिन्। उनले गाउँबस्ती कटान र डुबानले प्रभावित भएको उल्लेख गर्दै चुरे क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिइन्।

सांसद शेखरकुमार सिंहले मधेश–प्रदेशको संस्कृति संरक्षण गर्न आवश्यक भएको उल्लेख गरे। यसले पर्यटकलाई आकर्षण गर्न सकिने उनले विश्वास व्यक्त गरे।

सांसद कृष्णप्रसाद अधिकारीले खस्कँदो अर्थतन्त्रमा सुधार ल्याउन सुझाव दिए।

सांसद विष्णुकुमारी सापकोटाले रोजगारीका लागि विदेश जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर स्वदेशमै स्थानीय तहबाट नै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमबार