बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८(२) अनुसार मंगलबार लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री बनेका लामा बुवा स्वर्गीय दिपबहादुर लामा तामाङ र आमा स्व पुर्णिमाया तामाङको कोखबाट २०२७ कार्तिक ८ गते नुवाकोटको किस्पाङ्ग गाउँपालिका–५ मनकामनामा सामान्य परिवारमा जन्मिएका थिए।
सानै उमेरदेखि अब्बल र हक्की स्वभावका लामाले गाउँकै स्कुलबाट निमावि, सदरमुकाम विदुरबाट एसएलसी र काठमाडौँको शंकरदेव क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन गरेका लामा राजनीतिसँगै व्यावसायिक काममा पनि संलग्न थिए। लामाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।
वि.स २०४३ सालदेखि नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको सदस्य हुँदै नेविसंघ शंकरदेव क्याम्पस इकाई सदस्य,२०४५ मा नेविसंघ नुवाकोट क्षेत्रीय सभापति, जिल्ला उपसभापति हुँदै कांग्रेस राजनीतिमा लामा उदाएका हुन्।
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गाविस अध्यक्षमा भारी मतका साथ निर्वाचित लामा पार्टीको १३औं र १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन्। २०६४ सालमा नुवाकोट क्षेत्र नं।३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा झिनो मतान्तरले पराजित भएपनि, २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का महासचिव पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।
२०७४ सालमा प्रतिनिधिसभा सदस्य तथा २०७९ सालमा बागमती प्रदेशसभा सदस्यमा नुवाकोट २ बाट निर्वाचित लामा जिल्लामा विकास प्रेमी नेताका रुपमा परिचित छन्। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र लामा, कांग्रेस वृत्तमा प्रभावशाली नेता भएकै कारण बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका थिए।
गत ०७९ चैत २६ गते बागमती सरकारमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका लामाले त्यस बेला सत्ताको नेतृत्व गरेको माओवादीलाई दबाबमा राखेर मन्त्रालय कांग्रेसको भागमा ल्याउन सफल भएका थिए।








