गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ रिसामा पहिरोमा परी बेपत्ता भएका तथा घाइते भएकाहरूको पहिचान खुलेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आज बिहान करिब तीन बजेतिर पहिरो जादा जितबहादुर गुरुङको घर र उनले सञ्चालन गरेका कृषि फर्म पुरिएको थियो। पहिरोमा पुरिएर गुरुङका श्रीमति कान्छि गुरुङ, बुबा सुलाल गुरुङ तथा कृषि फर्ममा काम गर्ने रमेश गुरुङ र कृषि फर्मका ट्याक्टर चालक रमेश परियार बेपत्ता भएका छन्। पहिरोमा परी अन्य २ जना भने घाइते भएका छन्।
घाइते मध्ये स्थानीय दिलिप गुरुङको अवस्था गम्भीर रहेको भन्दै प्रजिअ दाहालले हेलिकप्टरमार्फत् उनको रेस्क्यू गर्ने तयारी भइरहेको बताए। यस्तै अर्का घाइते खमबहादुर गुरुङको पनि उद्धार गरी उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।
घटनाबारे खबर प्राप्त हुनासाथ बेपत्ताहरूको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएकोमा मौसम प्रतिकुल भएको तथा बाटो खराब भएका कारण उद्धारमा केही कठिनाइ भइरहेको उनले बताए।








