२०८३ असार ३२ , बिहीबार

वन्यजन्तु सहजै हेर्न पाइने ‘सुतैया ताल’



कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा ‘सुतैया ताल’ अवस्थित छ। बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नेहरूका लागि उत्तिकै महत्त्वपूर्ण पनि छ। बाँकेको बैजनाथ गाउँपालिका–३ मा पर्ने उक्त तालमा पुगेपछि जो कोहीको मन आनन्दित हुन्छ। स्थानीयका अनुसार पानी खान आउने दुर्लभ वन्यजन्तुको यहाँ सहज रूपले आवतजावत हुन्छ।

यो ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखि निरन्तर रूपले संरक्षण, संवद्र्धन गरिरहेका छन्। स्थानीय ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुह’ले तालको संरक्षण, संवद्र्धन गर्दै आएको छ। स्थानीयका अनुसार ताल करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको छ। वन समूहका पूर्वअध्यक्ष महेन्द्र थारुका अनुसार एक दशकदेखि स्थानीयले ताल संरक्षण गर्न सुरु गरेका हुन्।

‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तुहरू पानी खान आउन थालेका छन्,’ उनले भने ‘अहिले पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन्। यहाँ आएर वन्यजन्तु सहजै हेर्न पाइन्छ।’ यो ताललाई स्थानीयले ‘कन्वा ताल’ भनेर पनि चिन्छन्। ताललाई वरिपरि घना जंगलले घेरेको छ। यसले गर्दा वन्यजन्तुका लागि पानी खाने उपयुक्त स्थान बन्न पुगेको छ।

ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छन्। तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन छैन। स्रोत अभावका कारण तालमा पर्यटकीय गतिविधि बढाउन सकिएको छैन।

ताल अवलोकन गर्न स्वदेशी पर्यटकहरू यहाँ पुग्ने गर्छन्। तर, यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न सकेको छैन। राज्यले ध्यान नदिँदा पर्यटकीय सम्भावना बोकेको तालको सौन्दर्य नै ओझेलमा परेको स्थानीय बताउँछन्।

स्थानीय सरकार (बैजनाथ गाउँपालिका)ले तालका लागि केही मात्रामा बजेट छुट्याउँदै आएको छ। तर, स्थानीय सरकारको बजेटले मात्र पर्याप्त नहुने स्थानीय बताउँछन्। ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐनकानुन पनि पर्यटकीय पूर्वाधार निर्माणमा बाधक बन्न सक्ने स्थानीयको बुझाइ छ। निकुञ्जको कानुनी जटिलतालाई पन्छाएर यहाँ पर्यटकीय पूर्वाधार निर्माण गर्न सकियो भने तालबाट धेरै आम्दानी गर्न सकिने अपेक्षा गरिएको छ।

पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्ल सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो रहेको बताउँछन्। ‘तर यहाँ बाधक के बन्ने देखिन्छ भने निकुञ्जको आफ्नै ऐननियम छ, स्थानीय सरोकारवालाले चाहेर पनि गर्न नसक्ने स्थिति देखिन्छ। त्यो नेपाल सरकारले समन्वय गरेर यसलाई कानुन निर्माण गर्नतर्फ अलि ध्यान दियो भने यो सुतैया तालको आन्तरिक पर्यटन प्रवद्र्धन हुनेछ,’ मल्लले भने।

तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङजस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उनी बताउँछन्। सरकारले राष्ट्रिय निकुञ्जको ऐनकानुनसँग समन्वय गर्न सक्यो भने पर्यटन क्षेत्रको सम्भावना अत्यन्तै राम्रो देखिने उनको बुझाइ छ।

ताललाई पर्यटनसँग जोड्न स्थानीय सरकारले केही प्रयास थालेको छ। स्थानीय सरकारले ताल संरक्षणका लागि यहाँ वरिपरि ड्याम निर्माण गरेको छ। गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले डिपिआर निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुवात गरिएको बताए।

‘हामीले तालको डिपिआर तयार गरिसकेका छौं। अब संघ र प्रदेश सरकारले बजेट हालेर पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गर्नुपर्छ,’ उनले भने। स्थानीय सरकारसँग सीमित बजेट हुने भएकाले चाहेर पनि गर्न नसकिने अवस्था रहेको अध्यक्ष शाही बताउँछन्। ताल मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जका कानुनलाई फुकाएर पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २०८१ साउन १९ गते शनिबार