युरोपेली सङ्घ (ईयू) का सात राष्ट्रहरूले भेनेजुएलालाई राष्ट्रपति निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न माग गरेका छन्।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल र स्पेनले शनिवार जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ।
राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी गरेका थिए। तर, विपक्षीले भने एडमुन्डो गोन्जालेज उरुटियाविजयी भएको दाबी गर्दै आधिकारिक नतिजाको विरोध गरेका छन्।
‘हामी भेनेजुएलाका अधिकारीहरूलाई मतदानसम्बन्धी सबै विवरण तत्काल सार्वजनिक गर्न आग्रह गर्दछौं,’ सात देशका नेताहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भेनेजुएलाका जनताको इच्छालाई मान्यता दिन यस्तो कदम चाल्नु आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
भेनेजुएलाका हजारौँ नागरिकले मादुरोले चुनाव जितेको दाबीलाई चुनौती दिन देशभर भेला भएका बेला उक्त वक्तव्य आएको हो।
राष्ट्रपतिप्रति वफादार रहेको सीएनई निर्वाचन प्राधिकरणले शुक्रबार मादुरोको विजयलाई अनुमोदन गरेपछि सुरु भएको प्रदर्शनमा ११ जनाको मृत्यु हुनुका साथै एक हजारभन्दा बढीलाई हिरासतमा लिइएको बताइएको छ।
संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी छिमेकी अर्जेन्टिना, कोस्टारिका, पानामा, इक्वेडर र उरुग्वेलगायत देशहरूले उक्त नतिजालाई अस्वीकार गरिसकेका छन्।
भेनेजुयलाको विपक्षी दलले आफ्नो उम्मेदवार गोन्जालेज उरुटिया स्पष्ट रुपमा विजयी भएको दावी गर्दै आएको छ। रासस








