२०८३ असार ३२ , बिहीबार

‘चित्रगुप्तलाई पनि जवाफ दिन तयार छु, मैले भ्रष्टाचार गरेको छैन’



प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रतिको आफ्नो शून्य सहनशीलता बताउँदै आफूले भ्रष्टाचार नगर्ने र अरुलाई भ्रष्टाचार गर्न पनि नदिने बताएका छन्।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आज मंगलबारको बैठकमा भ्रष्टाचार निवारण, ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकको औचित्य स्पष्ट पार्दै प्रधानमन्त्री यस्ताे जिकिर गरेका हुन्।

उनले भने “संविधानले विकास र समृद्धिका लागि सुशासन कायम गर्नुपर्ने प्रबन्ध गरेको छ। यस यात्रामा भ्रष्टाचार तगारोका रुपमा रहेको हुन्छ, त्यसैले भ्रष्टाचारप्रतिको शून्य सहनशीलता सरकारको नीति हो, समृद्धिको आकाङ्क्षा पूरा गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य छ। त्यसका कारण म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । कसैले लाञ्छना लगाउनु बेग्लै कुरा हो तर मैले कुनै भ्रष्टाचार गरेको पाइएमा म यस धर्तीमा मात्र होइन, चित्रगुप्तसमक्ष पुगेर पनि बयान दिन तयार छु।”

भ्रष्टाचार गर्ने जो कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार दृढ भएकाले कसैको अनुहार हेरेर नरम वा कडा व्यवहार नगर्ने उनले स्पष्ट पारे।

सांसदहरुको प्रश्नमा थप स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “राज्यको सम्पति आफ्नो नाममा बनाउनुपर्ने मेरो सोच र आवश्यकता छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विद्यमान ऐन संशोधन विधेयक ल्याइएको हो। यस्ता विधेयक तयारी र पारितमा धेरै समय लाग्ने स्थिति नहोस्।”

प्रकाशित मिति : २०८१ साउन २२ गते मंगलबार