एयर डाइनेस्टीको कलसाइन ९ एन–एजेडी हेलिकप्टर दुर्घटना भएपछि उद्धार टाेलीले मृतक पाँचै जनाको शव संकलन गरेकाे छ।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सशस्त्रको सुरक्षा बेस बालाजुबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा १० जना तथा १९ नम्बर गणबाट सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा ४५ जनाको टोलीले शव संकलन गरेर काठमाडौं पठाउने तयारी हुँदै छ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार बुधबार दिउँसो १ः५४ बजे रसुवाको स्याँफ्रुबेसीका लागि उडान भरेको उक्त हेलिकप्टर तीन मिनेटपछि सम्पर्कबिहीन भएको थियाे।
दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको जानकारी प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि सुरक्षाकर्मीसहितको टोली परिचालन गरिएको थियाे।
मृत्यु हुनेमा पाइलट अरुण मल्ल र चिनियाँ नागरिकमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ रहेका छन्।
यसैबीच सरकारले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय गरेको छ।
नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा गठन भएको आयोगको सदस्यमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले बताए।








