२०८३ असार ३२ , बिहीबार

मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन!



१) मुक्तक

बगिरहन्छ नदी, कुनै दिन अनि रात हुँदैन

मान्छे मान्छे नै हो, कुनै अरू जात हुँदैन

थाहा हुँदैन अघाएकालाई भोकाको पीडा,

साथी के साथी, जब अप्ठेरोमा साथ हुँदैन।

२) मुक्तक

खोजीमा छु म हात तान्नेहरूको

भेटिन्छ लाम खुट्टा बान्नेहरूको

तिमी खोज्छौ सामाजिक न्याय,

भीड छ यहाँ आफ्नै छान्नेहरूको।

३) मुक्तक

बाहिर झमझम पानी परेको छ

तिमीलाई भेट्ने बानी परेको छ

जहाँ इच्छा त्यहाँ उपाय भन्छन्,

तिम्रो हात नै सिरानी परेको छ।

४) मुक्तक

नजिकियौं जब स्वभाव थाहा भो

टाढिएपछि मात्र अभाव थाहा भो

भन्न त सजिलै भनिन्छ अरूलाई,

आफैले गरेपछि न दबाब थाहा भो।

५) मुक्तक

बिना गीत अनि संगीत नाच्न सकिंदैन

आशामुखी भएर सधैं बाँच्न सकिंदैन

जवान भइरहन कस्लाई मन नहोला र!

चाहदैमा जवानीलाई साँच्न सकिदैन।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहीबार