२०८२ चैत १२ , बिहीबार

भोटको सिजन, रोजगारीको अभाव



धनगढी । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सुदूरपश्चिमका गाउँ–सहर चुनावी नाराले रंगिन थालेका छन् । उम्मेदवारहरू मञ्चमा उभिएर विकासका सपना बाँडिरहेका छन् । ठूला सडक, आधुनिक पूर्वाधार, अस्पताल, कलेज, तर मतदाताको मनमा एउटै प्रश्न गुञ्जिरहेको छ, रोजगारी कहिले ?

हरेक चुनावअघि नेताहरू आश्वासनको भारी बोकेर गाउँ पसेका छन् । तर चुनाव सकिएपछि ती वाचा कागजमै सीमित हुने क्रम दोहोरिँदै आएको स्थानीयको गुनासो छ । कैलालीको लम्कीचुहा–५ की राधा विक भन्छिन्, हाम्रा बालबच्चा सबै विदेश गएका छन्। हामीलाई यहीं काम चाहियो । कञ्चनपुरको बेदकोटकी भूमेश्वरी महराको प्रश्न पनि उस्तै छ । ठूला योजना भन्दा पहिले बाँच्ने आधार चाहियो, रोजगारी चाहियो ।

धनगढी–१५ उर्माकी मनमाया लुहारका १७ वर्षे छोरा पढाइ छाडेर भारतको बैंग्लोर पुगेका छन् । मेरो छोराको काँधमा झोला हुनुपर्ने उमेरमा भारी छ । देश कसका लागि बन्छ ? उनी प्रश्न गर्छिन् ।

लम्कीचुहाकी ११ वर्षीया मनिषा विक हजुरबुबा–हजुरआमासँग बस्छिन् । उनका आमाबुवा भारतमा मजदुरी गर्छन् । आमाबा चार वर्षदेखि आउनुभएको छैन, उनी भन्छिन् । उस्तै अवस्था १० वर्षीया विमला विकको पनि छ । घर धान्न नसकेपछि उनका आमाबुवा भारत गएका छन् ।

सुदूरपश्चिमका गाउँमा यस्ता कथा सामान्यजस्तै बनेका छन । जहाँ चुलो बल्न परिवार टुक्रिनुपर्ने बाध्यता छ । भारत नजिक, रोजगारी उतै सुदूरपश्चिमबाट भारतका सहर काठमाडौँभन्दा नजिक छन् । काम, बजार, उपचार—सबै उतै सहज छ । उत्तराखण्डदेखि मुम्बई, बैंग्लोरसम्म सुदूरपश्चिमेलीको पसिना बगिरहेको छ । अनुमानित पाँच–छ लाख मानिस भारतमा श्रम गरिरहेका छन् । तथ्यांक यकिन छैन, तर पलायनको लहर वर्षौंदेखि रोकिएको छैन । कोरोना कालमा फर्किएका धेरै युवाले गाउँमै केही गर्ने सपना देखेका थिए । तर पर्याप्त अवसर र सहजीकरण नहुँदा अधिकांश फेरि भारत फर्किए ।

बजेटका घोषणा, कार्यान्वयन शून्य

प्रदेश सरकारले अघिल्ला वर्षहरूमा अर्बौंको बजेट ल्याउँदै रोजगारी सिर्जना गर्ने दाबी ग¥यो । कृषि, उद्यम, स्वरोजगार कोषका कार्यक्रम घोषणा भए । तर स्थानीयको आरोप छ । बिनाधितो ऋण झन्झटिलो भयो, अनुदान वास्तविक किसानसम्म पुगेन, स्वरोजगार कार्यक्रम कागजमै सीमित भए, नतिजा—गाउँ फर्किएका युवाले भविष्य देखेनन् ।

फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा नेताहरू फेरि गाउँ पसिरहेका छन् । विकासका नयाँ सूची सार्वजनिक भइरहेका छन् । तर यसपटक मतदाता चुपचाप सुन्ने मनस्थितिमा छैनन् । धनगढीकी स्नातकोत्तर उत्तीर्ण सनम राना पनि विदेश जाने तयारीमा छिन् । डिग्री छ, अवसर छैन, उनी भन्छिन्, अब बन्ने सरकारले रोजगारी दिनैपर्छ ।

प्रकाशित मिति : २०८२ फागुन १५ गते शुक्रबार