२०८३ भदौ २७ , शनिबार

सायदै मेरो नसिब!



दिनको उज्यालोमा खुसी हुने मन

अनि रातको शून्यतामा आशा जीवनको

कति सुन्दर भिमकाय सपनाहरू

कतै फेरि तीनै सपनाहरूको नौरङ्गी मिलन

जुन देख्दा सरल छ

भोगाइ कष्टकर छ

पीडाको चुली थपिंदै छ

जिउने चेष्टा गर्‍याे हरपल

दुखाउनेहरू लामबद्ध छन्

सायदै मेरो नसिब!

निस्वार्थ आफ्नोपन- स्वार्थीहरूको झुण्ड

इमानदारीको मार्ग- बेइमानीहरूको चङ्गुल,

कर्तव्यपरायणतामा सैतानी अवरोध

अलिकति खुसी खोज्यो,

चोटै चोटका पहाड लहरै

अटल रह्यो सत्यतामा,

सत्यको चाङ थोपरिंदै

सदा समर्पण अरूकै खातिर

स्वाभिमानी भई जिउन खोज्यो,

अभिमानीले बाटो छेकिरहने

सायदै मेरो नसिब।

खेलाइरहेछन् ,सहिरहेछु

दुखाइरहेछन्, हाँसिरहेछु

पेलिरहेछन्, थामिरहेछु

निर्दोषिताको मूल्य,

अपमानले खेपिरहेछु

दुईचार जिउँदा लाशहरूले,

तर्साउन खोज्छन् बेलाबेला

फेरि तिनकै सदा कल्याण चिताइरहेछु

एक्लो वृहस्पति झुठै झुठ रे

ढोङ्गीहरूकै दुनियाँमा जिइरहेछु

सायदै मेरो नसिब!

खोट छैन, पत्याइँदैन

विश्वास गर्‍याे,

अविश्वासीले जितिरहेछन्

मिचिरहेछन्,

सत्कर्मको धज्जी उडाइरहेछन्

नभएको झुठ फलाउन,

सच्च्याइहररू लुकिरहेछन्

भ्रमको बीउ छरी

दलालहरू नाचिरहेछन्

अनि निर्दोष भएर पनि म,

निर्दोषिता खोज्न हिंडिरहेछु निरन्तर

सायदै मेरो नसिब!

प्रकाशित मिति : २०८१ असोज २५ गते शुक्रबार