२०८३ कात्तिक २० , शुक्रबार

विराटनगर किङ्सलाई दोहोरो चिन्ता, ब्याटिङ र बलिङ दुवै कमजोर



 काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बलियो ब्याटिङको छवि बनाएको विराटनगर किङ्स पछिल्लो खेलमा निराशाजनक प्रदर्शनपछि दबाबमा परेको छ ।

बिहीबार काठमान्डु गोर्खाजसँग ९ विकेटको फराकिलो हार बेहोरेपछि विराटनगरको आगामी यात्रा थप चुनौतीपूर्ण बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १८.३ ओभरमा ८३ रनमै समेटिएको थियो । सामान्य लक्ष्य पछ्याएको काठमान्डुले ९.२ ओभरमै एक विकेट गुमाएर जित निकालेको थियो ।

काठमान्डुको जितमा बलरहरूको उत्कृष्ट प्रदर्शन निर्णायक बन्यो । सन्तोष यादवले तीन विकेट लिए भने करण केसी र सेहान आरचचिगेले समान दुई विकेट हात पारे । उत्कृष्ट बलिङ गरेका सन्तोष खेलको प्लेयर अफ दी म्याच घोषित भए । विराटनगरका लागि रूपेश सिंहले सर्वाधिक २६ रन बनाए भने एन्जेलो म्याथ्युजले २२ रन जोडे । तर, लोकेश बम, आन्द्रे रसेल र इमरान शेखजस्ता अनुभवी ब्याटर चल्न नसक्दा टोली ठूलो योगफल बनाउन असफल भयो ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगरको यो तेस्रो हार हो । यसअघि आक्रामक ब्याटिङका कारण विपक्षी टोलीलाई दबाबमा राख्दै आएको विराटनगर पछिल्लो खेलमा भने ब्याटिङमै कमजोर देखियो । काठमान्डुका लागि ओपनर डेविड वार्नरले २४ बलमा ४४ रन बनाए । विलियम बोसिस्टोले अविजित २३ रन जोड्दा दुवैले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

विराटनगरको चिन्ता ब्याटिङमा मात्रै सीमित छैन । टोलीले बलिङमा पनि अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । कप्तान सन्दीप लामिछानेसहित अन्य बलरबाट प्रभावकारी प्रदर्शन हुन नसक्दा टोलीले दुवै पक्षमा सुधार गर्नुपर्ने देखिएको छ ।

त्यसमाथि अनुभवी अलराउन्डर आन्द्रे रसेलको एनपीएल यात्रा पनि समाप्त भएको छ । रसेलको स्थानमा कसलाई टोलीमा भित्र्याउने भन्ने विषयमा टिम मालिक पारस लुनियासँग छलफल गरेर निर्णय गरिने प्रशिक्षक धमिका प्रसादले बताएका छन् ।

प्रशिक्षक धमिका प्रसादले ब्याटरहरूको असफलता नै हारको मुख्य कारण रहेको बताएका छन् । पिचमा बल केही घुमे पनि त्यसलाई हारको कारण मान्न नमिल्ने उनको भनाइ छ । अनुभवी खेलाडीको साथ रहेकाले आगामी खेलमा टोलीले पुनरागमन गर्ने प्रशिक्षकको विश्वास छ । तर, ब्याटिङ र बलिङ दुवैमा देखिएको कमजोरी तथा रसेलको अनुपस्थितिले विराटनगरलाई आगामी खेलमा आफ्नो प्रदर्शन सुधार्न थप दबाब सिर्जना गरेको छ ।

प्रकाशित मिति : २०८३ कात्तिक २० गते शुक्रबार