काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रबार सुनका असर्फी बिक्री नगर्ने भएको छ । मौज्दातमा रहेका सुनका असर्फी बिहीबार नै बिक्री भइसकेपछि केन्द्रीय बैंकले यस्तो निर्णय गरेको हो ।
राष्ट्र बैंकले तिहार तथा धनतेरसलाई लक्षित गर्दै बिहीबारदेखि सुनचाँदीका असर्फी र मेडालियन बिक्री सुरु गरेको थियो । बिक्री सुरु भएको पहिलो दिन कर्मचारीसहित ४ हजार ५०० वटा सुनका असर्फी बिक्री भएका थिए । राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार प्रक्रियागत जटिलता र उत्पादनमा सीमितताका कारण बिक्रीयोग्य सुनका असर्फी बिहीबार नै सकिएका हुन् । त्यसैले शुक्रबार सुनका असर्फी बिक्री नहुने भएको हो ।
यस वर्ष राष्ट्र बैंकले वाणिज्य बैंकहरूसँग ३५ किलो सुन खरिद गरी असर्फी बनाएर बिक्रीमा ल्याएको थियो । गत वर्ष भने सुनको अभावका कारण चाँदीका मेडालियन मात्रै बिक्री गरिएको थियो । बिहीबार राष्ट्र बैंकले एक व्यक्तिलाई एक थान सुनको असर्फी र दुई थानसम्म चाँदीको मेडालियन बिक्री गरेको थियो । सुनको असर्फी २.५ ग्राम र चाँदीको मेडालियन १० ग्राम तौलका छन् ।
बिहीबार सुनको असर्फी प्रतिगोटा ६५ हजार ४०० रुपैयाँ र चाँदीको मेडालियन ३ हजार ८०० रुपैयाँमा बिक्री गरिएको थियो । शुक्रबार भने सुनका असर्फी बिक्री नहुने भए पनि चाँदीका मेडालियन बिक्री जारी रहनेछ । राष्ट्र बैंकले शुक्रबारका लागि चाँदीको मेडालियनको मूल्य प्रतिगोटा ३ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ ।








