विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयले तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको असोज महिनाका लागि ३ अर्ब ३१ करोड रुपैयाँ राजस्व असुलीको लक्ष राखिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४७ करोड रुपैयाँ मात्रै राजस्व असुली गरेको विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिए।
ढकालका अनुसार आयात घट्दो क्रममा रहेका कारण लक्ष अनुसार भन्सार कार्यालयले राजस्व संकलन गर्न नसकेको हो। ढकालले भने,‘राजस्वको लक्ष नपुग्नुको मुख्य कारण आन्तरिक बजारमा माग कम भएर आयात बढ्न नसक्नु नै हो।’
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको अघिल्ला दुई महिना पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको भन्सार कार्यालयको तथ्यांकले देखाउँछ। तथ्याङ्क अनुसार भदौ महिनामा ३ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष लिएकोमा २ अर्ब ४४ करोड रुपैयाँ मात्रै संकलन गरेको थियो।
यस्तै साउन महिनामा पनि लक्ष अनुसार राजस्व संकलन नभएको भन्सारको तथ्यांकले देखाएको छ। तथ्याङ्क अनुसार साउन महिनामा ३ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष राखेकोमा २ अर्ब ६२ करोड रुपैयाँ मात्रै असुली गरेको थियो।








