हेटौंडाका एक व्यक्तिलाई खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योग गरेको आरोपमा मकवानपुर प्रहरीले दुई जनालाई पक्रेको गरेको छ। हेटौँडा १ जरुवाटोलका २२ वर्षीय रोनक खड्केलाई खुकुरी प्रहार गरेको आरोपमा हेटौँडा ११ का २९ वर्षीय विशाल तामाङ र १८ वर्षका सनिस घिमिरेलाई पक्रेको हो।
कात्तिक ४ गते करिब साढे ११ बजेको समयमा हेटौँडा १ जरुवाटोल घर भई हेटौँडा १० टिसिएनरोड बस्दै आएका रोनक खड्केलाई आफ्नै कोठामा खुकुरी प्रहार भएको थियो। तीन जना अपरिचित व्यक्तिको आक्रमणबाट उनी घाइते भएका थिए।
मोटरसाइकलमा आएका उनीहरुले अश्लील शब्द प्रयोग गर्दै ज्यान मार्ने उदेश्यले धारिलो हतियार खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनीहरूको आक्रमणबाट खड्केको टाउको, अनुहार, गर्दन तथा शरीरका बिभिन्न भागमा चोट लागेको थियो।
आक्रमण गर्नेको पहिचान एवम् खोजतलास गर्ने क्रममा हेटौँडा ११ का तामाङ र घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। फरार रहेका एक व्यक्तिको भने खोजी कार्य भइरहेको छ। पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।








