२०८३ असार २९ , सोमबार

बालिकासँग विवाह गर्न खोज्ने चिनियाँ नागरिकसहित ८ जना पक्राउ



चिनियाँ नागरिकसँग बालिकालाई विवाह गराउने ८ जनालाई प्रहरीले सुनसरीबाट नियन्त्रणमा लिएको छ।

धनकुटाको छथर जोरपाटी २ की १६ वर्षीया बालिकालाई चीनको हुबेल निवासी ३३ वर्षका लि टेङसँग विवाह गराउँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने ८ मध्ये ३ जना चिनियाँ नागरिक छन्। उनीहरु सबै मिलेर चतरास्थित औलिया बाबाको मन्दिरमा विवाहको कार्यक्रम राखेका थिए।

प्रहरीले बेहुला लि, किशोरीका बाबु, उदयपुर बेलकाका दीपक दर्जी, बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजारका शितल गुरुङ, काभ्रेपलान्चोक रोशीकी रोशनीमाया तामाङ तथा चिनियाँ नागरिकहरु डोङ शिहाओ र वु हेजीलाई नियन्त्रणमा लिएको हो।

सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बालिकाको इच्छा विपरीत प्रलोभनमा पारेर विवाह गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए।

छिमेकी किशोरीको विवाह पनि चिनियाँ नागरिकसँग भएको र उनको पारिवारिक जीवन राम्रो रहेको पाइएपछि छोरीको विवाह गर्न आफू राजी भएको बालिकाका बुवाले बताएका छन्।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार