नेवार समुदायले परिवारका सबै सदस्य भेला भएर म्ह: पूजा गर्ने चलन छ।नेवारी भाषामा म्ह: भनेको शरीर हो। सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्ह: पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ ।
आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ। समग्र देवता ऊर्जा शक्ति विश्व ब्रह्माण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ।
किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्म सुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ।
प्रत्येक वर्ष नेपाल संवत्अनुसार कार्तिक शुक्ल पक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरूको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । शरीरमा शान्ति नभएसम्म आत्म शान्ति नहुने भएकाले म्ह: पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ।
यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ। म्ह: पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एकरएकवटा मण्डल बनाइछ । मण्डलमा खाने तेलको सानो घेरालाई बिचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ।








