हिमा गाउँपालिका–१ स्थित बड्की गाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएको छ । स्वास्थ्य सेवा प्रभावकारी सञ्चालन गर्न गाउँपालिकाले बड्कीगाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।
गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक विनियोजित कार्यक्रमअनुसार बड्की स्वास्थ्यचौकीमा ३८ लाख रुपैयाँ लगानीमा पक्की भवन निर्माण गरिएको हो । पुरानो साँघुरो भवनबाट बर्थिङ सेन्टर, सामान्य जाँचदेखि अन्य सेवा दिइरहेको स्वास्थ्यचौकीलाई पूर्वाधार अभावले सेवा प्रवाहमा कठिनाइ भएको थियो । गाउँपालिका अध्यक्ष शाहीले भने, ‘भौगोलिक रुपमा विकट र सदरमुकामभन्दा टाढा रहेका हिमाका थुप्रै बस्ती स्वास्थ्यचौकीबाटै विभिन्न स्वास्थ्य सेवा लिइरहेका छन् ।’
‘आर्थिकरुपमा विपन्न नागरिकका लागि स्वास्थ्यचौकी ठूलो अस्पताल हो । दैनिक धेरैले सेवा लिन्छन्, तर पूर्वाधार अभावले साँघुरो संचरनाबाट सेवा दिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गरेका छौं, पालिका भित्रका सबै,स्वास्थ्य संस्थालाई पूर्वाधार र उपकरणमा सम्पन्न बनाउने पालिकाको लक्ष्य रहेको छ’, उनले भने, ‘गत आवको विनियोजित ३८ लाख रुपैयाँ बजेटबाट बोलपत्र आह्वान भई भवन निर्माण भएको छ ।’
+ There are no comments
Add yours