सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार विभिन्न विधाका प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । प्रतियोगिताको महत्वपूर्ण दिनमा महिला बास्केटबल, महिला क्रिकेट र पुरुष फुटबलतर्फ विभागिय टोली तथा प्रदेशहरूले आ–आफ्नो वर्चस्व कायम गरेका हुन् ।

बुधबारका खेलहरूमा महिला बास्केटबलको फुल कोर्ट र थ्री अन थ्री दुवै विधाबाट क्वाटरफाइनल पुग्ने केही टोलीहरूको टुंगो लागेको छ भने महिला क्रिकेटमा बागमती र कोशी प्रदेशले जित दर्ता गरेका छन् । यता, पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले सानदार विजयी सुरुवात गर्दा कोशी र बागमती प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् ।
महिला बास्केटबलमा सुदूरपश्चिम, आर्मी र बागमती क्वाटरफाइनल
महिला बास्केटबलको फुल कोर्टतर्फ सुदूरपश्चिम प्रदेश समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा बुधबार भएको एकतर्फी खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित ग¥यो । सुदूरपश्चिमको सहज जितमा सन्जु घिसिङले सर्वाधिक १४ अंकको योगदान गरिन्। खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सुदूरपश्चिमले चारै क्वाटरमा क्रमशः २०, ११, ४ र १२ अंक जोडेको थियो । मधेश प्रदेशले दोस्रो क्वाटरमा ३ अंक जोड्नुबाहेक बाँकी तीनवटै क्वाटरमा कुनै पनि अंक जोड्न सकेन ।
फुल कोर्टकै समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई ५२–१९ को फराकिलो अन्तरले पराजित ग¥यो । पुलिसको जितमा दिभा महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै २० अंक बटुलिन् । खेलको पहिलो क्वाटरमा घरेलु टोली कर्णालीले ८–० को अग्रता लिँदै पुलिसलाई दबाबमा राखेको थियो ।
तर, दोस्रो क्वाटरदेखि खेलमा फर्किएको पुलिसले बाँकी सबै क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै जित सुनिश्चित ग¥यो । पुलिसले दोस्रो क्वाटरमा २०–३, तेस्रोमा १०–५ र चौथो क्वाटरमा १८–३ को स्कोर ग¥यो । यस समूहबाट क्वाटरफाइनल पुग्ने टोलीको अन्तिम टुंगो भने बिहीबार हुने एपीएफ र कर्णालीबीचको खेलले लगाउनेछ । फुल कोर्टतर्फ बिहीबार एपीएफ र कर्णाली, मधेश र बागमती, कोशी र गण्डकी तथा लुम्बिनी र आर्मीबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी, महिला बास्केटबलको थ्री अन थ्री विधामा नेपाल आर्मी र बागमती प्रदेशले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्। समूह ‘ए’ को खेलमा नेपाल आर्मीले कोशी प्रदेशलाई १३–८ ले पाखा लगायो । आर्मीको जितमा दिब्यान्सी कार्कीले महत्वपूर्ण ६ स्कोर गरिन्। तीन टिम रहेको समूह ‘ए’ बाट विजेता बन्दै आर्मी अन्तिम आठमा पुगेको हो ।
यस्तै, समूह ‘बी’ बाट बागमती प्रदेश पनि समूह विजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल रह्यो। बागमतीले मधेश प्रदेशलाई ८–३ ले पन्छायो, जसमा आरुषा महर्जनले ४ अंक बटुलिन् । थ्री अन थ्रीतर्फ बिहीबार कोशी र एपीएफ, मधेश र कर्णाली, गण्डकी र सुदूरपश्चिम तथा पुलिस र लुम्बिनीबीच खेल हुनेछ । बिहीबारका खेलहरूसँगै फुल कोर्ट र थ्री अन थ्री दुवै विधाको क्वाटरफाइनल समीकरण पूरा हुनेछ ।
महिला क्रिकेटमा बागमती र कोशी प्रदेशको विजयी प्रदर्शन
बुधबार सम्पन्न महिला क्रिकेटका दुई खेलमा बागमती प्रदेश र कोशी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात ग¥यो । बागमतीले टस जितेर पहिले ब्याटिङको निम्तो दिएपछि मैदान उत्रिएको सुदूरपश्चिमले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ११२ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर मनिषा बोहराले ३० रन तथा स्नेहा महराले २२ रन बनाइन्। खेलको अन्तिमतिर ब्याटिङ गर्न आएकी अनु कडायतले १५ बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित २३ रनको महत्वपूर्ण पारी खेलिन्।
कप्तान ऋतु कनौजियाले १४ बलमा अविजित १५ रन जोडिन् भने ममता बोहराले २ तथा रविना बोहरा, यामु पाण्डे र ममता चन्दले एक–एक रन बनाए। सुदूरपश्चिमका मनिषा बोहरा र स्नेहा महरा रन आउट भएका थिए । बलिङतर्फ बागमतीकी कप्तान अस्मिना कर्माचार्यले ३ विकेट लिइन् भने संस्कृति फुयाँल र लक्ष्मीमाया रुम्बा लामाले एक–एक विकेट हात पारे ।
जवाफमा ११३ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशले १८ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । बागमतीको जितमा ओपनर हेलिषा गुरुङले ५१ बलमा ६ चौका प्रहार गर्दै अविजित ५५ रनको अर्धशतकीय पारी खेलिन् । यस्तै, लक्ष्मीमाया रुम्बा लामाले २०, कामना श्रेष्ठले १३, विपिसा शाहीले १० र सेविका कुमारी यादवले ३ रनको योगदान दिए। सुदूरपश्चिमका लागि अनु कडायत र स्नेहा महराले एक–एक विकेट लिए । अर्धशतकीय पारी खेलेकी हेलिषा गुरुङ ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
यसैगरी, बुधबार नै भएको दोस्रो खेलमा कोशी प्रदेशले आयोजक कर्णाली प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता ग¥यो । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएर दबाबमा रहेको कोशीले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । कप्तान रुविना क्षेत्रीको शानदार अर्धशतकीय पारीको मद्दतमा कोशीले १२५ रन बनायो। रुविनाले आउट हुनुअघि ५७ बलको सामना गर्दै एक छक्का र नौ चौकाको मद्दतमा ६२ रन जोडिन्।
कोशीका लागि काजोल श्रेष्ठले १४, खुशी राजबंशीले १०, लकिता राजबंशीले ९, विमला महलाले अविजित ७ र फुलकुमारी राजबंशीले अविजित ६ रन बनाए । कर्णालीकी रमा बुढाथोकीले २ र रविना बुढामगरले १ विकेट लिए । १२६ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश कोशीको कसिलो बलिङसामु ७६ रनमै अलआउट भयो। कर्णालीका लागि शिखा दवाडीले सर्वाधिक २०, सोविका शाहीले १२, रमा बुढाथोकीले १०, किरणकुमारी कुँवरले ९, गंगा खड्का र सोना चन्दले सात–सात, अञ्जु गुरुङले ४, रविना बुढामगरले ३ तथा जयन्ती चन्द र ओपनर रेखा सोनीले एक–एक रन बनाए। कर्णालीको ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा कोशीकी लकिता राजबंशीले ४ ओभरमा १ मेडन राख्दै मात्र ५ रन खर्चेर ३ विकेट लिइन् र ‘प्लेयर अफ द म्याच’ बनिन् । कोशीकी निशा शाह र एलिशा खादियाले दुई–दुई तथा कप्तान रुविना क्षेत्री र निरु राजबंशीले एक–एक विकेट लिए ।
पुरुष फुटबलमा आर्मीको सानदार सुरुवात, कोशी र बागमतीको बराबरी
पुरुष फुटबलतर्फ बुधबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको पहिलो हाफमा एक गोलको अग्रता लिएको आर्मीले दोस्रो हाफमा एक गोल थप्दा अर्को एक गोल आत्मघाती उपहार पाएको थियो। आर्मीका लागि खेलको २३ औं मिनेटमा जर्सी नम्बर २१ का भरत खवासले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ५२ औं मिनेटमा जर्सी नम्बर १० का लाकेन लिम्बुले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नम्बर ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेपछि आर्मी ३–० ले विजयी भयो। प्रतिस्पर्धात्मक खेलमा लुम्बिनीका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर बीरेन्द्र पाण्डेले जानकारी दिए । पुरुष फुटबलकै बुधबार भएको दोस्रो खेलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई गोलको अग्रता लिएको बागमती खेलको उत्तरार्धमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।
बागमतीका लागि दुवै गोल एलिक श्रेष्ठले खेलको ३६ औं र ५४ औं मिनेटमा गरेका थिए । तर, खेलको अन्तिम १५ मिनेटमा उत्कृष्ट पुनरागमन गर्दै कोशीले दुई गोल फर्कायो । कोशीका तर्फबाट खेलको ७५ औं मिनेटमा मिलन राईले पेनाल्टीमार्फत गोल गरे भने ७८ औं मिनेटमा पदम भट्टराईले बराबरी गोल फर्काए। खेलको दोस्रो हाफमा दुवै टोलीका तर्फबाट गोलका थुप्रै अवसरहरू खेर गएका थिए । उक्त खेलमा कोशीका पदम भट्टराई र सविन घिमिरे तथा बागमतीका संजीव अर्यालले पहेँलो कार्ड पाएका थिए । पुरुष फुटबलतर्फ बिहीबार दुई खेल हुनेछन् । पहिलो खेल बिहान ९ बजे कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच तथा दोस्रो खेल दिउँसो २ः३० बजे सशस्त्र प्रहरीको एपीएफ क्लब र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।








